देशभर धान दिवस, तर दिपायललाई भने छोएन असार पन्ध्रले

 असार १५, २०७६ आइतबार १८:९:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी - देशभर सबैले बिहानैदेखि धान दिवस मनाइरहेका बेला डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा भने सुन भएको छ ।

पर्याप्त पानी नहुँदा यहाँका किसानले धानको बीउसमेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलकाे पिपल्ला लगायतका क्षेत्रमा गहुँ काटिसकेपछि खेत समेत जोत्न पाएका छैनन् । दिपायलमा पानी नपर्दा तथा सिचाई सुविधा नहुँदा आफूहरुले धानको बेर्ना समेत राख्न नसकेको दिपायल पिपल्लाका किसान टिका कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज सबैले असार १५, धान दिवस भन्दै रोपाइँ गर्न थालेका छन्, सिँचाइ सुविधा नहुँँदा हामीहरुले बीउसमेत राख्न पाएका छैनौँ, के धान दिवस मनाउनु ?’

डोटीको दिपायल क्षेत्र समथल तथा भित्री मधेस जस्तै मैदानी क्षेत्र हो । पानी नपरेका कारण यहाँका खेतहरु बाँझै छन् । सिँचाइ सुविधाका लागि विभिन्न निकायमा धाउँदा समेत कुनै पहल हुन नसकेको स्थानीय किसानहरुको आरोप छ ।

केही वर्ष पहिलेसम्म यस ठाउँमा सिँचाइ सुविधा भए पनि २०७१ सालमा आएको बाढी पहिरोले सलेनीगाढको सिँचाइ कुलो बगाएपछि अहिले यहाँका किसान धानको बीउ राख्नदेखि रोपाइँ गर्नसमेत आकासे पानीको भर पर्न थालेको दिपायल पिपल्लाका अर्का किसान कल्चे कामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले कुलो थियो र हामी समयमै रोपाई गथ्यौँं, कुलो पहिरोले बगाएपछि बनाउन सकेनौँ र आकासेपानीको भरमा खेती गर्न विवश छौँं ।’

निर्वाचनको समयमा विभिन्न नेताहरुले सिँचाइ सुबिधा दिने वचन दिए पनि यहाँका किसानको मर्का अहिलेसम्म कसैले पनि नबुझेको स्थानियबासीको आरोप छ ।

‘जहिले पानी पर्छ अनि बेर्ना राख्छौ र धान रोप्छौँ’, अर्का स्थानीय किसान रामबहादुर बिकले भन्नुभयो, ‘हाम्रो पीडा कसैले हेरेनन्,भगवानले हेरे खान पाउँछौँ नत्र जमिन बाँझै हुन्छ ।’

डोटीमा कुल १० हजार हेक्टरमा धान रोपाइँ गरिन्छ भने त्यसको दुई चौथाई मात्रै दिपायल क्षेत्रमा धान रोपिने गरेको जिल्ला कृषि ज्ञानकेन्द्र डोटीको तथ्यांकमा उल्लेख गरिएको छ । पुरानो क्षेत्रीय सदरमुकामको यस्तो हालत छ भने अन्य पानी नलाग्ने ठाउँकाे हालत के होला?

समयमै खेती लगाउन नसकेका कारण यहाँका किसानहरुले सोचे अनुसारको अन्नपात उत्पादन गर्न नसकेको स्थानीय समाजसेवी तथा पूर्व नगरप्रमुख घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिपायल क्षेत्र भनेको अन्न उत्पादनको अति राम्रो ठाउँ हो, तर यहाँ सिँचाइ सुविधा नहुँदा किसानले समयमै खेतीपाती गर्न सक्दैनन् र सोचे अनुसारको अन्न पनि फल्दैन ।’ 

जिल्लाका सिँचाइ सुविधा भएका ठाउहरुमा रोपाइँ सकिए पनि यहाँका केही ठाउँमा अहिले पनि रोपाइँ सुरु भएको छैन । समयमै पानी नपर्ने हो भने यहाँका खेतहरु यो वर्ष बाँझै रहने अवस्था छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया