आकाशमा उड्नुपर्ने विमान एयरपोर्टमै किन थुप्रियाे : प्रधानमन्त्री ओली

 असार १६, २०७६ सोमबार १२:३१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पार्नु भयो । निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्बाहीमा सुधार नभए सरकार त्यसकाे संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पार्नु भयो ।

‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु पर्‍यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न  बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीको नेपाल वायु सेवा निगमलाई प्रश्न थियो, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ?’

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाउनु भयो । उहाँले सरकार निगमको साथमा रहेको तर निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि यूरोपियन देशहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराउनु भयो । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेको भन्दै उहाँले असन्तुष्टी व्यक्त गर्नुभयाे । 

उहाँले विमान संचालनको स्पष्ट योजनाकासाथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराउनु भयो । प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया