संरक्षण नहुँदा भत्कियो मल्लकालीन निरौली दरबार

 असार १७, २०७६ मंगलबार ११:५३:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका– ६ निरौलीमा रहेको पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेको मल्लकालीन निरौली दरबारको अस्तित्व मेटिँदै गएको छ । उचित संरक्षण तथा सम्बर्द्धनको अभावमा यो दरबार भत्किँदै गइरहेको हो ।

संरक्षणमा कसैले पनि चासो नदेखाएपछि यो दरबार भत्किँदै गएको निरौली बसोटीका स्थानीय बासिन्दा खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो कलात्मक शैलीको तथा पुराना राजाको पालामा बनेको दरबार भत्किँदै गएको छ, पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण गरिनुपर्ने हो तर यसमा कसैले चासो देखाएका छैनन् ।’

करिब १०० वर्ष भन्दा पहिले निरैपाल राजाले आफनो शासनकालमा निर्माण गरेको यो दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर यो ठाउँलाई निरौली नाम राखिएको जोरायल गाउँपालिका– ५ गड्सेराका स्थानीय ९० वर्षीय वृद्ध जीतबहादुर विष्टले बताउनुभयो ।

मल्लकालीन समयमा राजा नाघि मल्ल र यही ठाउँमा रहेको भागेश्वर देवताबीच को ठूलो भन्ने विषयमा घम्साघम्सी (भनाभन) चलेको र राजाले आफू ठूलो भएको जिकिर गरेपछि भागेश्वर देवताले राजाको दरबारमा कम्पन गराएपछि राजा डराएर देबतासँग माफी मागेर पूजा गर्न सुरु गरेको डोटेली गीत (चैत, धुमारी) मा उल्लेख गरिएको जोरायल गाउँपालिका ६ निरौलीका ८० वर्षीय वृद्ध नरबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाघी मल्ल राजा र भागेश्वर देवताबीच भएको को ठूलो भन्ने विवादको कहानीमा बनाइएको धुमारीमा अहिले पनि डोटीका स्थानीय गौरा पर्वमा डेउडा खेल्ने गर्छन् ।’

निरौली गाउँभन्दा माथि अग्लो रमणीय डाँडामा रहेको यो दरबारको समयमै उचित संरक्षण तथा सम्बर्द्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकिय विकास हुने स्थानीय बताउँछन् । 

यो क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (कुवा) पनि जीर्ण बन्दै गएको छ । त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिका बेर्छैनमा रहेको रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बीच बाटोमा घोडालाई दाना पानी दिने ढुंगा तथा फलामका तोपडा पनि संरक्षण नहुदा टुटफुट हुन थालेका छन् ।

स्थानीय समाजसेवी डिल्लीराज जोशीले भन्नुभयो ‘संरक्षण अभावमा अहिले यहाँका पुरातात्विक महत्वका विभिन्न चिजबीज लोप हुने अवस्थामा पुगेका छन् । आँखै अगाडी रहेका यी सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् ।’

गौरा पर्वमा पनि राजा नाघि मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत (चैत, धुमारी) गाउने चलन अझै पनि छ । जोशीले भन्नुभयो ‘भएका सम्पदाहरु त लोप हुने अवस्थामा पुगिसकेका छन् । परम्परा र संस्कृतिसँग सम्बन्धित यस्ता चैत, धुमारी पनि लोप नहोला भन्न सकिँदैन ।’

निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने जोरायल गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भन्नुभयो ‘विज्ञहरुसँगको छलफल र स्थानीयको सुझावका आधारमा नै यसको संरक्षणका लागि पहल अगाडि बढाइनेछ ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया