च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
जाजरकोट – मकै रोपेर जाजरकोटका पशुपालक कृषक पाटनमा व्यस्त छन् । भैँसी, गोरु, बाख्रा, भेडा र घोडा लिएर उनीहरू जाजरकोट र जुम्लाको सिमाना रहेको चौथारी पाटनमा व्यस्त छन् ।
दुहुना भैँसीबाट उत्पादन हुने दूध, घ्यू, दही जुम्लाका विभिन्न गाउँमा लिएर बिक्री गरी राम्रो कमाईसमेत हुने गरेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिनुभयो । घरमा खेती किसानी गर्ने केही मानिस मात्र बसेर पशुपालन गर्न बढी स्थानीयवासी पाटनमा लागेका हुन् ।
त्यस्तै नलगाड नगरपालिका–८ का रामबहादुर बस्नेत डोल्पाको साइकुवारी पाटनमा छन् । यार्सागुम्बा सङ्कलन र यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणलाई दूध, दही बिक्री गरेर राम्रो आम्दानी हुने भएपछि आठ वर्षदेखि त्यहाँ जाने गरेको बस्नेतको भनाइ छ । जाजरकोटका तल्लो क्षेत्रमा चरिचरन नहुने र गर्मी हुने भएपछि सबै पशुपालक किसान पाटनतिर जाने गरेको उहाँले बताउनुभयो ।
वैशाखको अन्तिममा गएका पशुपालक किसान असारको अन्तिममा धान रोप्ने समयमा मात्र आउने र कोही साउनको पहिलो हप्तामा आउने गरेका छन् । वैशाखदेखि असार मसान्तसम्म जङ्गलमा घाँस काट्न प्रतिबन्ध गरिएकाले किसान पशुचौपाया लिएर पाटन जान बाध्य हुने गरेको स्थानीयवासीको भनाइ छ । तीन महीनासम्म बन्द गरेर हुर्किएको घाँसहरू साउन महीनामा मात्र प्रयोग गर्न पाइने स्थानीय सामुदायिक वन समूहको नियम रहेको छ ।
गाउँभरिका पशुचौपायहरू लिएर केही मानिस पाटन जाने गरेका छन् भने केहीले गाउँमा खेती किसानी मिलेर गरी आपसी सद्भाव र एकताको भावना समेट्ने गर्दछन् । बर्खायाममा घोरेटा बाटाहरू भत्किएर अवरुद्ध हुने भएकाले पाटनमा बसेर पशुपालन गर्नु सबैभन्दा राम्रो भएको नलगाड नगरपालिका–११ का प्रेम ध्यारले बताउनुभयो ।
पाटनमा अस्थायी मानव बस्ती निर्माण गरी पशुपालक किसान बस्ने गर्दछन् । हिउँको पानी पगालेर पशुचौपायालाई दिने र आफूहरू खाने गरेको ध्यारले बताउनुभयो । अहिले पाटनमा निगालोको टुसा, घुकेलालगायतका फलहरू खाना पाइने भएपछि निकै रमाइलो हुने गरेको अर्का स्थानीयवासी श्याम डिसीले बताउनुभयो । धान रोप्दा रोपानी (रोप्ने) र (खेतमा गोरुद्वारा खेत हिलामे बनाउने व्यक्ति) हलारीलाई चाहिने घ्यू, तरकारीका रूपमा प्रयोग हुने निगालोको टुसा पाटनबाट किसानको घरमा पुग्ने गर्दछ ।
नयाँ फल खाएर नयाँ खेती गर्ने भन्दै किसान हौसिने गर्दछन् । पाटनमा यो समयमा विभिन्न खालका जडीबुटीसमेत सङ्कलन हुने गरेको छ । पाटनमा रहेका गहिरो भागहरूमा लगाएको आलुले वर्षभरि तरकारी खान र बिक्री गरेर आम्दानी हुने गरेको छ । पाटनमा वर्षौंअघि देखि निर्माण गरिएका (जग्गा) खोरिएमा खेती गरी आलु उत्पादन हुँदै आएको हो ।
जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासी आ–आफ्ना लेकमा गएर पशुचौपायाहरू पाल्ने गर्दछन् । सबै परिवारका सदस्यहरू कर्कट सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन साउन १ गते जम्मा भएर रमाइलो गर्ने गर्दछन् । बर्षेनी यहाँका किसान कसले कहाँ गएर काम गर्दा सजिलो हुन्छ, त्यस्तो आधारमा काम रोजेर क्षमताअनुसारको जिम्मेवारी लिने गरेको बारेकोट गाउँपालिका–५ जनकबहादुर शाहीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।