सुदूरपश्चिममा छैन सरकारी सर्पदंश उपचार केन्द्र

 असार २१, २०७६ शनिबार १५:४८:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशभर सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा यहाँका स्थानीयले बर्सेनि अकालमै ज्यान गुमाउँदै आएका छन् ।

यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टिस्नेक भेनम’ नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुने गरेकाे हो ।  सरकारी स्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलिएका कारण यहाँ समस्या उत्पन्न भएकाे स्थानीयको आरोप छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार गएकाे वर्ष मात्रै सुदूरपश्चिमभरमा सर्पदंशका कारण ४३ जनाको मृत्यु भएको थियाे । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीहरुले तत्काल औषधी नपाउँदा उनीहरुको ज्यान गएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकमा उल्लेख छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यो अर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी ५ जनाको विषालु सर्पले टोकेका कारण ज्यान गइसकेको छ । जिल्ला अस्पतालले निःशुल्क रुपमा वितरण गर्ने ‘एण्टिस्नेक भेनम’ राखिएका यहाँका कतिपय अस्पतालहरुमा पनि उपचार सेवा भरपर्दो नभएको शिखर नगरपालिका-२, कालागाढका स्थानय रामबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्पदंशको विशेष उपचार केन्द्र छैन, केही अस्पतालमा औषधी भए पनि दक्ष चिकित्सक नहुँदा बिरामीले ज्यान गुमाउनु परेकाे छ ।’
 

गर्मी याममा सुदूरपश्चिमभर दर्जनाैँ सर्पदंशका बिरामी आउने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलले जनाएको छ । जसमा आधा जति  सर्पदंशका बिरामीको ज्यान जाने गरेको निर्देशनालयको तथ्यांक छ । सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको उपचार केन्द्र नभएका कारण यहाँका सर्पदंशका बिरामीहरु उपचारका लागि छिमेकी जिल्ला बाँके तथा भारतका विभिन्न शहरमा धाउन बाध्य छन् ।

प्रदेश सरकारले सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र राख्ने चासो नदिएका कारण यहाँका स्थानीयको अकालमै ज्यान जाने गरेकाे स्थानीयको आरोप छ । सरकारी स्तरबाट सर्पदंशको उपचार केन्द्र नभए पनि नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री न. २५ बाहिनी अन्तरगतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ ।

कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापना कालदेखि हालसम्म ५४५ जनाको उपचार गरिएको गणका गणपति तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २०७२ सालमा स्थापना भएको उपचार केन्द्रमा २०७३ सालमा १ सय ३ महिला र ७० पुरुष गरी १७३ जना, २०७४ सालमा ९९ महिला र ६१ पुरुष गरी जम्मा १६० जना तथा २०७५ सालमा ९६ महिला र ७४ पुरुष गरी जम्मा १७० जनाको उपचार भएको थियाे ।

त्यस्तै २०७६ साल असार १९ गतेसम्म २७ महिला र १५ पूरुष गरी जम्मा ४२ जनाको उपचार गरिएको छ ।

अर्जुनीमा देवीदल गणले २०७३ सालमा खोलेको सर्पदंश उपचार केन्द्रमा यो असार महिनामा मात्रै ६३ जनाको उपचार गरिएको गणका गणपति तथा प्रमुख सेनानी राजु बस्नेतले बताउनुभयो । ‘सर्पदंशका बिरामी दिनहुँ बढिरहेका छन्, हामीसँग दक्ष प्राविधिक र उपकरण पनि छ तर प्रचार प्रसार नभएर बिरामी भारत जाँदैछन्,’उहाँले भन्नुभयो, ‘सर्पले डसेपछि नआत्तिनोस्, सिधै हाम्रो उपचार केन्द्रमा आउनुस्, हामी निको पाछौँ ।’

यहाँका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन नसकिँदा बिरामीको ज्यान जाने गरेकाे छ । यहाँको तराइ क्षेत्रमा गोमन र करेतजस्ता अति विषालु सर्पको बिगबिगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ ।

विषालु सर्पले डसेपछि बेलैमा उपचार केन्द्र नलगेमा बिरामी मृत्युको मुखमा पुग्ने गरेको शैलैश्वरी अस्पताल दिपायलका डाक्टर ललित लिम्बुले बताउनुभयो । गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको स्थानियबासीहरु बताउँछन् । विषालु सर्पले डसेका बिरामीले ढिलो उपचार पाएमा पनि सर्पले डसेको अङ्ग काम नलाग्ने गरी जोखिम हुने गरेको चिकित्सकहरुकाे भनाइ छ ।

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा उप सचिव झंकरबहादुर विष्टले सुदूरपश्चिममा सर्पदंशको सरकारी उपचार केन्द्र नभएर स्थानीयको अकालमै ज्यान जान थालेको कुरालाई ध्यानमा राखेर मन्त्रालयले सर्पदंश उचार केन्द्र खोल्ने निर्णय गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कैलालीको सेती अञ्चाल अस्पतालमा सर्पदंश उपचार केन्द्र खोल्ने भन्ने निर्णय भएको छ, सोही अनुरुप हामी चाँडै नै उपचार केन्द्र खोल्ने तयारीमा छौँ ।‘

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया