विषादी परीक्षण स्थगित गरिएपछि सामाजिक सञ्जालमा यस्ताे प्रतिक्रिया

 असार २१, २०७६ शनिबार १९:४४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भारतबाट आयात गरिएका विषादीयुक्त तरकारीले नागरिककाे स्वास्थ्यमा असर पारेकाे भन्दै विषादी परीक्षण गर्ने निर्णय गर्‍याे ।

कृषि प्राविधिकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर भन्सार नाकामा भारतबाट आएका ट्रकबाट नमूना निकाल्दै विषादी परीक्षण थालेको थियो । 

तर भारतको दबाबपछि पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गर्‍याे । सरकारको यो कदमपछि सर्वसाधारण निकै रुष्ट भएका छन् । केहीले यसलाई सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नभएको बताएका छन् भने केहीले सरकार भारततर्फ ढल्किएको बताएका छन् । 

विशेषगरी सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भैरहँदा केही व्यक्तिहरुले भने भारतबाट आयात हुने विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्दै नेपालकै अर्गानिक तरकारी उत्पादनमा जोड दिएका छन् । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा प्रदूषण र विषादीयुक्त तरकारीलाई लिएर प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग जवाफ माग्नु भएकाे छ ।

सामाजिक सञ्जाल प्रयाेगकर्ता नविन श्रेष्ठ लेख्नुहुन्छ, ‘आफ्नै बुवाआमा, छोराछोरी र जनतालाई विषादी हालेको तरकारी खुवाउने र जनतालाई विदेशमा बेचिन बाध्य पार्ने नेताहरुले नेपालमा किन सधैँ साथ र समर्थन पाउँछन् ? 

अर्का फेसबुक प्रयाेगकर्ता गेलाङ्ग मगर राजले पनि सरकारले आफूले गर्न नसक्ने कामलाई बढाइचढाइ मात्र गरेकाे भन्दै आलाेचना गर्नुभएकाे छ । उहाँ लेख्नुहुन्छ, ‘जुन कुरालाई निरन्तरता दिन सकिँदैन भने किन आशा मात्र देखाउने काम गर्नु ?' 

त्यस्तै अर्का प्रयाेगकर्ता ईश्वर शाही ठकुरीले जनताको स्वास्थ्यलाई पन्छाएर भारतसँग झुक्ने हाम्रो सरकार कति महान भन्दै व्यङ्गात्मक आलाेचना गर्नुभएकाे छ ।  

विश्वनाथ ज्ञवालीले भने उपभाेक्तालाई पनि उत्तिकै जिम्मेवार हुन सुझाव दिनुभएकाे ५ । ‘उपभोक्ता पनि उस्तै छन्, सस्तो भयो भन्दैमा आफ्नो स्वास्थ्यको मतलब छैन । नेपालको सब्जीभन्दा भारतको सब्जी सस्तो भएकोले यस्तो भएको हो,' उहाँ लेख्नुहुन्छ । 

गौतम विकास लेख्नुहुन्छ, ‘व्यापारीले नेपाली बजारकै तरकारी बेच्नुपर्‍याे । बढी मुनाफा खाने चक्करमा भारतबाट आयातित तरकारीलाई नेपाली तरकारी भनेर बेच्छन् ।' उहाँले व्यापारीलाई नागरिककाे स्वास्थ्यसँग नखेल्न सुझाव दिनुभयाे ।    

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता रिजाल बाबु लेख्नुहुन्छ, ‘अब हामी आफैँ करेसाबारीमा तरकारी पलाऔ, विषादीयुक्त तरकारी खरिद नगरौँ । सरकारलाई आफ्नो जनताको भन्दा छिमेकीको चाकडी प्यारो छ ।' 

एम रहमान मियाँले भने उपभाेक्ताहरुलाई आफ्नाे स्वास्थ्यकाे ख्याल आफैँ राख्न सुझाव दिँदै विकल्प पनि दिनुभएकाे छ । उहाँ लेख्नुहुन्छ, ‘अब अलिकति करेसाबारीमा सब्जी लगाउने कि पैसो दिएर विषादी तरकारी फलफूल खाने, तपाइँ हाम्रो निर्णय ।'

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया