उपत्यकामा गाडी: आधाभन्दा बढीले फ्याँक्छन् प्रदूषित धुवाँ

 असार २१, २०७६ शनिबार २०:४७:५३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल  अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ । 

हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका गाडी पनि उपत्यकामा निर्वाधरुपमा सञ्चालन भइरहेको छ तर नियन्त्रणको प्रभावकारी उपाए भने अपनाउन नसकिएको तीतो यथार्थ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन महीना उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्दा आधाभन्दा बढी गाडी प्रदूषण फेल भएको भेटिएको छ । 

अभियानमा तीन हजार ५६ वटा गाडीको प्रदूषण जाँच भएकामा एक हजार ७१० गाडी प्रदूषण फेल भएको भेटियो । यसको अर्थ ५२ प्रतिशतभन्दा बढी दूषित धुवाँ फ्याँक्ने गाडी उपत्यकामा चल्ने गरेका छन् । ‘डिजल र पेट्रोलबाट चल्ने गाडी बराबर जस्तो नै प्रदूषण फेल भएको पाइयो, त्यसैले आगामी दिनमा अझै प्रदूषण जाँचलाई कडाइ गर्नेछौँ’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले भन्नुभयो । ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षण कार्यालयको संयुक्त प्रयासमा यहाँका विभिन्न क्षेत्रमा प्रदूषण अनुगमन तथा जाँच गरिँदै आइएको छ । 

सवारी परीक्षण कार्यालय काठमाण्डाैका अनुसार पेट्रोल गाडी करीब ३० प्रतिशत र डिजेलका गाडी ४० प्रतिशतको हाराहारीमा प्रदूषण फेल भएको पाइएको छ । कार्यालयका प्रमुख रामचन्द्र पौडेलले यसरी प्रदूषण फेल भएका गाडीलाई एक हजार रुपैयाँ जरिवाना गराउने गरिएको र प्रदूषण मापनअनुसार ठीक बनाएपछि गाडीलाई हरियो स्टिकर दिने गरिएको बताउनुभयो । 

उहाँका अनुसार पेट्रोलबाट सञ्चालित गाडीले फ्याँक्ने धुवाँमा तीन प्रतिशतभन्दा बढी कार्बन मोनोअक्साइट हुनु हुँदैन । हाइड्रोकार्बन एक हजार पिपिएमभन्दा बढी हुनुहुँदैन । डिजेलबाट चल्ने गाडीले फ्याँक्ने धुवाँमा स्मोक डेनसिटी ६५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । 

उपत्यकामा यस्ता गाडी प्रयोग गर्ने क्रम भने बढ्दो क्रममा रहेको छ । गाडीलाई राम्ररी मर्मत गरेर चलाउने हो भने सबै दृष्टिकोणले सुरक्षित हुने भए पनि चालकले यसमा बेवास्ता गर्दा गाडीलेसमेत वायु प्रदूषणलाई थप टेवा पु¥याइरहेको छ । 

मुलुकको राजधानी काठमाण्डाै धुलो धुवाँबाट आक्रान्त छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने वर्षौैंदेखिको समस्या हो । धुलो र हिलो रोक्न धेरै प्रयास नभएका होइनन् । काठमाण्डाै महानगरपालिकाले ब्रुमर ल्याएर सडक सफा गर्ने अभियानसमेत चलायो । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक जामको समस्या उस्तै छ । त्यसमाथि प्रदूषण फेल भएका गाडी निर्वाधरुपमा सञ्चालन हुनुले थप समस्या निम्ति रहेकोतर्फ भने ध्यान कम छ । 

ट्राफिक प्रहरीले काठमाण्डाैमा तीन महीने अभियानअन्तर्गत करिडोर तथा अण्डरपास व्यवस्थापन, सवारी प्रदूषण नियन्त्रण, सडक रेखाङ्कन, फुटपाथ व्यवस्थापन, दुईपाङ्ग्रे सवारीलाई घुम्ती शिक्षा तथा बस रोक्ने, ओराल्ने तथा उकाल्ने स्थानको नियमन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । यही अभियानका क्रममा भएको जाँचमा यतिधेरै सवारी प्रदूषण फेल भएको पाइएपछि यसलाई थप कडाइका साथ लैजाने योजना बनाइएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया