बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिकाे आग्रह

 असार २३, २०७६ सोमबार १४:१९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकले जनताद्धारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकास र सुशासनमा थप योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्दै उहाँले वित्तीय संघ, संस्थाहरुलाई देशको आर्थिक वृद्धि गर्न र वित्तीय अनुशासनलाई कायम गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने अपेक्षा पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहँले देशको आर्थिक विकासका लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले शिलान्यास गर्नु भएको भवन अगाडि दुई तला र पछाडि चार तलाको हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मेवारी लिएको सो भवनको अनुमानित लागत २ अर्ब ८ करोड रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिनुभयो ।

साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको त्याे भवन २०७८ साल भदौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस भवनको निर्माण कम्पनी भने सिके समानान्तर जेभी रहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया