सर्पले डसेर डोटीमा फेरि एक युवकको ज्यान गयो

 असार २३, २०७६ सोमबार २०:५:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – पूर्वीचौकी गाउँपालिका-४ गिरीटोलमा सर्पले टोकेर फेरि एक युवकको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार २२ वर्षीय पुरन गिरीको सर्पले टोकेर ज्यान गएको हो । घरमा काम गरिरहेको बेला आइतबार साँझ उहाँलाई सर्पले टोकेको थियो । 

सर्पले डसेपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको थियो । उपचारका क्रममा उहाँको सोमबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यसअघि केआईसिंह गाउँपालिका-२ का नौ वर्षीय झकेन्द्रबहादुर बोगटी र शिखर नगरपालिका-२ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले टोकेर ज्यान गएको थियो । 

डोटीमा यो महिनामात्रै सर्पले टोकेर तीन जनाको ज्यान गैसकेको छ । गर्मी मौसमका कारण पनि डोटीमा सर्पले टोक्ने क्रम बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया