प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचय पत्र

 असार २४, २०७६ मंगलबार १४:५५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय परिचय पत्र लिनुभएको छ । 

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिनुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचय पत्र दिइएको थियाे ।

त्यसैगरी विभागले भोलि (बुधबार) राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ । विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीलाई परिचय पत्र वितरण गरिएको र बुधबार राष्ट्रपतिलाई वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

उहाँले आउँदाे दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरुलाई सरकारी सेवामा लिने आधारको रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई सरकारले त्याे काम आउँदाे २ वर्षभित्र सम्पन्न गर्ने कार्यादेश दिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया