राजनीतिक दलसम्बन्धी विधेयक अघि बढाएर साना दललाई दबाबमा राख्न...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर–१, दोमिल्लाका सुरेन्द्र सिंह मालले जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराएको बताउनु भएको छ ।
मंगलबार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै उपस्थित पीडित मालले आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पार्नु भयो ।
नेपालमा कक्षा १२ सम्मको पढाइ सकेर काम र पढाइको सिलसिलामा भारतको जम्मू गएको बेला उत्तर प्रदेशको मेरठ घर भएका इलियास नाम गरेका व्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।’
त्यही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उहाँले सुनाउनुभयो । ‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङ्गी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाइ आफ्नो डेरामा लगेर गएका थिए ।’
एक-दुई दिन आफूलाई कुनै काम नलगाए पनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्यास छोडेको जनाउँदै त्यसको एन्टिबायोटिक औषधि दिएको उहाँले बताउनुभयो । अस्पतालबाट एक जना डाक्टर र नर्स बोलाएर सिरिञ्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिञ्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उहाँको भनाइ छ ।
तीन महिनासम्म आफूलाई इन्जेक्सन लगाएको उहाँले बताउनुभयो, ‘करिब साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्मू ल्याए ।’ जहाँ लैजान परे पनि बेहोस बनाएर लगिएको उहाँले बताउनुभयो । आफूलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफूमा महिलाको ‘हर्माेन’ विकास भएको उहाँले स्पष्ट पार्नुभयो ।
आफ्नो लिङ्ग परिवर्तन गराइसकेपछि दुई वर्षसम्म तेस्रो लिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उहाँले बताउनुभयो ।
आफ्नो गोप्य अंग काटेर फालेको र लिङ्ग परिवर्तन गराएको कुरा महसुस भएपछि आफूलाई सोध्नेसम्मको आँट नभएको उहाँको भनाइ छ । अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजश्वला पनि नभएको बताउनुभयो ।
अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आए पनि पूर्ण महिलाको रुपमा विकास भैनसकेको पनि उहाँले बताउनुभयो । ‘मलाई नपुंसक बनाइयो । मर्न जाँदा आमा पनि सँगै मर्न जान खोज्छिन् । परिवारको गर्जो टार्न कामका लागि भारत गएको थिएँ । अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाइयो’, भावुक हुँदै उहाँले बताउनुभयो ।
आफूमा बाँच्ने कुनै रहर नभएको बताउँदै उहाँले यो उमेरमा आफूलाई यस्तो हालतमा पुर्याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गर्नुभयो । आफूलाई परेको गम्भीर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस् भन्दै आफू मिडियामा उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जीवनमा के गरेर बाँच्ने ? के खाने ? कहाँ बस्ने ? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु ।’
‘मलाई बाँच्न शक्तिको आवश्यकत्ता छ । सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ’, उहाँले विलौना गर्नुभयो । ‘अब मेरो परिवार छैन । मैले सन्तान जन्माउन सक्दिनँ । न त केटा नै बन्न सक्छु । पिसाब गर्दा पहिला राम्रैसँग भए पनि अहिले आएर लुगा भिज्ने गरी छरिने र राम्रोसँग नहुने जस्ता समस्या देखिँदै आएका छन्’, उहाँले दुःखेसो पोख्नुभयो ।
अब आफ्नो भन्ने कोही नभएको र परिवारिक अवस्था पनि दिनप्रतिदिन कमजोर बन्दै गएका कारण पुनः शल्यक्रिया गर्ने आफ्नो हैसियत नभएकोले झन ठूलो समस्यामा परेको उहाँको गुनासो छ । ‘म पनि मानिस हुँ । मेरो पनि बाँच्ने रहर छ । तर, सरकारले कानुन नै छैन भन्ने गरेको छ । अब यस्तो विषयमा म के गरेर जीवन बिताउने ?’ उहाँले प्रश्न गर्नुभयो ।
काठमाण्डौमा आफू न्याय माग्नका लागि आएको उहाँले बताउनुभयो, ‘म काठमाण्डौमा अलपत्रजस्तै परेको छु, सरकारसँग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाइदिनुपर्यो ।’
चार वर्षसम्म आफूले भारतमा नारकीय जीवन बिताएको भन्दै उहाँले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई जतिसक्दो चाँडो कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गर्नुभयो ।
कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उहाँले बताउनुभयो । आफूले प्रहरी कार्यालयमा मुद्दा दर्ताको विषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।