जातीय विभेद गर्नेलाई तीन महिना कैद

 असार २६, २०७६ बिहिबार ७:२६:५३ | रासस
unn.prixa.net

दैलेख – जिल्ला अदालतले जातीय विभेद गर्ने महावु गाउँपालिका–५ का ६० वर्षीय दिलबहादुर रावतलाई तीन महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । 

न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले यस्तो फैसला सुनाएको हो । जातीय भेद्भाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ दफा ७ (१) (क) तथा मुलुकी अपराधसहिंता २०७४ को दफा १६६ को (२) बमोजिम  कैद र जरिवानाको फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आर्चायले बताउनुभयो ।

तत्कालीन युद्धमा भूमिगत हुँदा शोभा सुनार र गणेशबहादुर रावतले अन्तरजातीय विवाह गर्नुभएको थियो । शोभाका श्रीमान् गणेशबहादुरले दोस्रो विवाह गरी भागेपछि आफ्ना छोराछोरीलाई गाँस, बास र पढाउनका लागि खर्चसहित अंश मागेपछि जेठाजु दिलबहादुरले आफूलाई अभद्र व्यवहार गरी जातीय छुवाछूत गरेको भनी शोभाले विसं २०६७ जेठ १ गते मुद्दा दर्ता गर्नुभएको थियो ।

प्रतिवादी दिलबहादुरले जातीय छुवाछूत कसुर गरेको देखिन आएको हुँदा यो फैसला सुनाइएको अदालतले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया