बाढीबाट जाेगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

 असार २८, २०७६ शनिबार ७:२:३९ | रासस
unn.prixa.net

सिरहा - कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ ।

बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो ।

दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाण्डौबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आउनुभएको थियो । गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढ्नुभएको थियो ।  

६ सय परिवार विस्थापित

वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

बाढीका कारण सिरहा नगरपालिका–६ बसपिट्टा, लहान नगरपालिका–१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया