भारतीय बाँधका कारण गाैर डुब्याे, सामाजिक सञ्जालमा 'गाे ब्याक इण्डिया र गाे ब्याक एसएसबी'

 असार २८, २०७६ शनिबार १३:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

बाढीले डुबेकाे गाैरमा रहेकाे जुद्ध मावि तस्बिर - चञ्चल झाकाे फेसबुकबाट

रौतहट – दशगजामा रहेका भारतीय बाँधका ढोका भारतीय पक्षले नखोलेपछि रौतहट सदरमुकाम गौरसहित अधिकांश ठाउँ डुबानमा परेका छन् ।

दशगजामा लालबकैया र बाग्मती नदीलाई जोडेर बनाएको बाँध भत्केपछि भने पानीको सतह केही मात्रामा घटेको छ । दशगजामा भारतीय पक्षले बनाएको बाँध पानीको बेगले भत्काएको हो । बाँध वरपर भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । भारतीय पक्षले भत्किएका बाँधहरु मर्मत गर्न थालेको छ ।

रौतहटको सदरमुकाम गौरमा घरको एक तलासम्म पानी भरिएको छ । गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयको एक तला पूरै पानीमा डुबेको छ । त्यस्तै गौरमा रहेका सरकारी कार्यालयहरु पनि पानीमा डुबेका छन् ।

भारतले विपदका बेला पनि बाँध नखोलेकोमा नेपाली नागरिक भने रुष्ट बनेका छन् । धेरैले सामाजिक सञ्जालमा #BackOffIndia र #GoBackIndianSSB लेखेर भारतले तत्काल बाँध खाेल्नु पर्ने बताएका छन् ।  

नेपाली का‌ंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतसँग वार्ता गरेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनु भएकाे छ । उहाँले ट्वीट गर्दै राैतहटकाे गाैर र भारतकाे बैरगनियाँबीचकाे बाँधका केही ढाेका तत्काल खाेल्न भारतलाई आग्रह गर्नुपर्ने बताउनु भएकाे छ । 

नेपाली कांग्रेसका सांसद गगन थापाले पनि वर्षाकाे समयमा सधैँ सीमापारिका बाँधले दु:ख दिने गरेकाे बताउँदै प्रधानमन्त्री ओलीलाई समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गर्नु भएकाे छ ।

फेसबुकमा राही चञ्चल लेख्नुहुन्छ, ‘मुख्यमन्त्रीज्यू, मोदीको स्वागतमा करोडौँ खर्च गर्नुभो । तर तपाईँका जनता डुब्दा मोदीले किन कुनै कदम चालेनन् ?’

त्यस्तै विवेक शर्मा लेख्नुहुन्छ, ‘दशगजामा रहेका बाँधका ढोकाहरु खोल भारतीय सरकार, नेपाल डुबिरहेको छ ।’

 

त्यस्तै रितेश अग्रवाल फेसबुकमा लेख्नुहुन्छ, ‘यो कस्तो बेटी–रोटीको सम्बन्ध हो । हामी डुबिरहेका छौँ । उनीहरु साइफन खोल्नुको सट्टा बाँधको सुरक्षामा खटिएका छन् ।’

त्यस्तै सुमन प्रसाईँ लेख्नुहुन्छ, ‘रोटी र बेटी त स्वार्थ पूरा गर्न मात्र हो, डुबाएर मारिसके, दुई तिहाइको तागत कहिले काम लाग्छ ?’

त्यस्तै गोपालकुमार राउत लेख्नुहुन्छ, ‘छिमेकी नै दुष्ट परेपछि कसको के लाग्छ ?'

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया