बाढी पहिरोमा परेर सिन्धुलीमा चार जनाको ज्यान गयाे, तीन जना बेपत्ता

 असार २८, २०७६ शनिबार १९:४९:४७ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - अविरल वर्षापछिकाे बाढी पहिरोमा परेर शनिबार सिन्धुलीमा चार जनाको ज्यान गएको छ भने अन्य तीन जना बेपत्ता अवस्थामा रहेका छन् ।

योसहित बाढी पहिरोमा तीन दिनभित्र ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

दुधौली नगरपालिका–१२, जिनाखुमा पहिरोले पुरेर एकै परिवारका तीन जना र त्यसै नगरपालिका–४ डकाहामा कमला नदीले बगाएका बन्जरा परिवारका सदस्यमध्ये एक जनाको शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंंहले जिनाखुको घट्नामा पहिरोले घरसमेत बगाउँदा आमा, छोरा र छोरी पुरिएको जानकारी आएको बताउँदै प्रहरी घटनास्थलतिर गइसकेको तर विस्तृत विवरण आउन भने बाँकी रहेको जानकारी दिनुभयो । 

बिहानीपख सुतिरहेको अवस्थामा माथिबाट पहिरो आएर घर बगाउँदा पहिरोमा पुरिएका आमा, छोरा, छोरी बाहेक बावुलाई भने घाइते अवस्थामा उद्धार गरिएको बताइएको छ । त्यस्तै कमला नदीमा आएको बाढीले बन्जारा परिवारका छ जनालाई सुतिरहेको अवस्थामा बगाएकोमा बालक कार्बनलाई बैरास्थित कमला नदीकै बगरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक सिंंहका अनुसार १८ वर्षीय मिथुन कापरी र उहाँकी भाउजु २३ बर्षिय रेणु कापरीलाई उद्धार गरिएको र उनीहरुकाे आमा मेमेरियल अस्पताल डकाहामा उपचार भइरहेको छ । रेणुको १ वर्षीय छोरा सर्गन, ७ वर्षीय छोरा आँधी र मिथुनकी फूपू ६० वर्षीया मरणी कापरी नदीले बगाएर बेपत्ता अवस्थामा रहेका र उनीहरुको खोजी भइरहेको छ ।

त्यसै ठाँउका १६ घर परिवारलाई भने सुरक्षित स्थानमा सारिएको छ । सिन्धुलीमा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । शुक्रबार फिक्कल गाँउपालिका–१, महादेवडाँडाकी ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया