टिमुर खेतीमा डोटीका युवाको आकर्षण

 साउन २, २०७६ बिहिबार १६:५५:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी जिल्लामा टिमुर खेतीको पर्याप्त सम्भावना देखिएपछि स्थानीय युवाहरु पछिल्लो समय व्यावसायिक रुपमा टिमुर खेतीमा लागेका छन् ।

जोरायल गाउँपालिका वडा नम्बर-५, गड्सेराका किसान लिलाधर विष्टसहितको युवा टोलीले गाउँमा आफनो छुट्टै समूह बनाएर अहिले व्यावसायिक टिमुर खेतीको सुरुवात गरेका छन् । किसानहरुलाई टिमुरको उपयोगिता, बजार आदिकाे ज्ञान दिनका लागि आफूहरुले व्यवसाय सुरु गरेको लिलाधर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त पाइने टिमुर खेर जान थालेपछि हामीहरुले सामुहिक रुपमा टिमुर खेती गर्न थालेका हाैँ, टिमुर फलाउन सके यस्को राम्रो आम्दानी छ ।

पछिल्लो समय स्थानीय शेरबहादुर देउवा, हेम विष्ट, जङ्गबहादुर विष्टले समूह बनाएर व्यवसायिक रुपमा टिमुर खेती सुरु गरेका हुन् ।

टिमुर बहुउपयोगी वनस्पति भएको र स्वास्थ्यका लागि पनि फाइदा पुर्‍याउने किसानहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जंगलमा प्रशस्त पाइने टिमुरको बारेमा सरकारी पक्षबाट किसानलाई जानकारी दिन नसकिदा विगतमा यहाँ उपलब्ध टिमुर उपयोगविहीन हुने गरेको जोरायल गाउँपालिका-५ का वडाअध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टिमुरकाे फाइदाका बारेमा यहाँका किसानलाई ज्ञान दिन सके यसले किसानलाई राम्रै आम्दानी दिने देखिन्छ तर त्यसो गर्न सकिएको छैन ।’

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुर खेतीको सम्भावना बढी भएको कृषि इकाइ सम्पर्क कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टिमुरले रोपेको पाँच वर्षबाट उत्पादन दिन सुरु गर्छ, रोपेको ३०-४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै हुने गर्छ ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा टिमुर खेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने बडीकेदार गाउँपालिका १ का स्थानीय गणेशबहादुर मौनीले बताउनुभयो । डोटीमा सुकाएको टिमुर गाउँमा प्रतिकेजी २०० रुपैयाँ र बजारमा २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

सुदूरपश्चिममा अहिलेसम्म व्यावसायिक रुपमा टिमुर खेती गरेको पाइँदैन । समुद्री सतहबाट १ हजार देखि २५ सय मिटर उचाइमा रहेका जंगलमा टिमुर फल्ने गरेको कृषि प्राविधिकहरु बताउँछन् ।

टिमुरको प्रयोग र माग बढन थालेपछि व्यवसायिक रुपमा टिमुर खेती गर्न युवा अग्रसर भएको जोरायल गाउँपालिका-५ का स्थानीय डम्बर विष्टले बताउनुभयो । ‘टिमुर औषधी र मसलाको रुपमा प्रयोग हुन्छ भन्ने थाहा नहुँदा खेर जाने गथ्र्योे’, विष्टले भन्नुभयो, ‘टिमुरको विषयमा जानकारी पाएपछि अहिले उपयोग बढदै गएको छ ।’

टिमुर पशु चौपायलाई औषधीको रुपमा समेत खुवाउने गरिएको छ । टिमुर खेती गर्न चाहने किसानलाई डिभिजन तथा इलाका वन कार्यालयले बिरुवा उपलब्ध गराउने गरे पनि लक्षित क्षेत्रमा पुग्न नसक्दा जिल्लामा टिमुर खेती अहिलेसम्म कसैले नगरेकाे किसानहरुको भनाइ छ । नगदेबालीको रुपमा रहेको टिमुर खेतीलाई अहिले भने किसानहरुले नर्सरी बनाएरै बिक्री गर्न थालेका छन् ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया