परीक्षार्थीको बास खोज्न खटिए सीडीओ र डीएसपी

 साउन ३, २०७६ शुक्रबार १४:१५:२१ | विमल बिष्ट
unn.prixa.net

डोटी – लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विभिन्न पद र तहको परीक्षामा  सहभागी हुन डोटी आएका परीक्षार्थी बस्ने ठाउँ नपाएर अलपत्र परेका छन् ।

उनीहरुले बस्ने ठाउँ नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल तथा प्रहरी प्रवक्ता (डीएसपी) लालबहादुर धामी परीक्षार्थीको बास खोज्न आफैँ खटिएका छन् ।

लोक सेवाको परीक्षा दिनका लागि कम्तीमा पनि ६ हजारभन्दा बढी परीक्षार्थी डोटीमा पुगेका छन् । उनीहरुलाई बस्नका लागि डोटीमा होटल अभाव भएपछि बास बस्ने व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारी आफैँ खटिनु भएको हो । अलपत्र परेका केही परीक्षार्थीलाई यहाँका खाली रहेका विभिन्न सरकारी कार्यालय संघ–संस्थाका कार्यालयहरुमा बस्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘परीक्षार्थीको संङ्ख्या बढी भयो, होटल कमै मात्रामा छन्, उनीहरुको बासका लागि मैले आफैँ गएर यहाँका विभिन्न सरकारी कार्यालय तथा संघ–संस्थाका कार्यालयमा बस्ने व्यवस्था मिलाएको छु, अब सबैले बास पाउनु हुनेछ ।’

प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीसहितको टोलीले जिल्लाको राजपुर, पिपल्ला, एयरपोर्ट र सिलगढीका विभिन्न स्थानहरूमा अनुगमन गर्नुका साथै परीक्षार्थीको बसाइ व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउन समन्वय गर्दै आफैँ खटिनु भएको हो ।

त्यस्तै, परीक्षार्थीको बासको व्यवस्थापनमा दिपायल सिलगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, डोटी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायत सबैले सहयोग गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया