डाेटीमा वडा कार्यालयमा आगजनी, कागजपत्र र सरसामान जलेर नष्ट

 साउन ७, २०७६ मंगलबार १०:१२:५२ | विमल बिष्ट
unn.prixa.net

डोटी - जोरायल गाउँपालिका वडा नम्बार-४, लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा साेमबार राति नचिनेका व्यक्तिहरुकाे समूहले आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीका अनुसार सोमबार मध्य रातमा आगजनी गरिएको हो । आगजनी किन र कसले र कुन उद्देश्यले  गर्‍यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्‍यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’

आगजनीबाट वडा कार्यालयको वडाध्यक्ष तथा वडा सचिवको कोठामा भएका सम्पूर्ण सर सामान जलेर नष्ट भएको वडाअध्यक्ष नन्दराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगजनीबाट म र वडा सचिव बस्ने कोठामा भएका सामान जलेका छन्,कस्ले जलायो भन्ने अहिलेसम्म थाहा भएको छैन ।’

जोरायल प्रहरीले भने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने अनुमान गरेको छ । नचिनेका व्यक्तिहरुकाे आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो संङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया