गोरखा क्याम्पसको जग्गा मिचेर प्लटिङ

 साउन ७, २०७६ मंगलबार १४:३६:४७ | किरण लोहनी
unn.prixa.net

गोरखा – जग्गा कारोबारीहरुको एक समूहले गोरखा क्याम्पस हाताको जग्गा मिचेर घडेरी प्लटिङ गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर–५, हिलेपोखरीस्थित क्याम्पसको झण्डै एक रोपनी जग्गा मिचेर जग्गा प्लटिङ थालिएको हो ।

क्याम्पसको जग्गाबाटै प्लटिङ गरिएको घडेरीसम्म सडक जोडिएको छ । प्लटिङका क्रममा पनि क्याम्पसको झण्डै ६ आना जति जग्गा मिचिएको गोरखा क्याम्पसले जनाएको छ । ‘हामीले हाम्रो जग्गामा तारबार लगाउने काम सुरु गरेका छौँ, एक ठाउँमा अलि चोसो परेको जग्गा थियो, उनीहरुले त्यही चोसोबाट सडक बनाएर लगेछन्’, क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले भन्नुभयो, ‘विश्वविद्यालयको सम्पत्तिको रेखदेख गर्ने जिम्मा हाम्रो हो, हामी जग्गा फिर्ता गरेरै छाड्छौँ ।’

गोरखा क्याम्पसको नाममा हिलेपोखरी क्षेत्रमा ७० रोपनीभन्दा बढी जग्गा छ । जग्गा व्यवसायीहरुले क्याम्पसको जग्गाको आडैमा प्लटिङ थालेका हुन् । त्यस क्रममा प्लटिङ स्थलसम्म सडक जोड्नका लागि क्याम्पसको जग्गा मिचिएको छ ।

‘सुरुमा त जग्गा दिनुपर्‍यो भनेका थिए, हामीले मिल्दैन भन्यौँ, पछि त हामीलाई जानकारी पनि नगराइ सडक खनेछन्’, क्याम्पस प्रमुख श्रेष्ठ भन्नुहुन्छ, ‘हामीले स्थानीय सरकारलाई यसबारे मौखिक जानकारी गराइसकेका छौँ, आवश्यक परे थप प्रक्रिया अघि बढाउँछौँ ।’ क्याम्पसले गोरखा नगरपालिकाको २० लाख रुपैयाँ सहयोगमा जग्गामा तारबार गर्ने काम सुरु गरेको छ । 

प्लटिङका क्रममा गोरखा क्याम्पस हुँदै छेवेटारसम्मको सडकको रिटेनिङ वाल पनि भत्काइएको वडा नम्वर ७ का अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । ‘सडकको भित्तामा लगाइएको ४ मिटर चौडाइ र ६ फिट उचाइको पर्खालनै भत्काएर सडक बनाइएको रहेछ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘मलाई पनि थाहा थिएन, गाउँका मान्छेहरुले खबर गरेपछि हेर्न गएको, सडकमा क्षति पुर्‍याइएको छ ।’

गण्डकी प्रदेश सरकारले वडा कार्यालयमार्फत सडक स्तरोन्नतिको काम गरेको हो । क्याम्पसको जग्गा मिचिएको र सडक पनि भत्काइएपछि काम रोक्न लगाइएको श्रेष्ठले जानकारी दिनुभयो । ‘हिजो आफै गएर काम रोक्न लगाएको छु’, उहाँले भन्नुभयो, ‘वडा कार्यालयको सम्पर्कमा आउनु भनेको छु, अहिलेसम्म आउनुभएको छैन ।’  

जग्गा प्लटिङ गर्ने समूहका एक सदस्य राजेन्द्रकुमार श्रेष्ठले पनि सडकमा क्षति पुगेको स्वीकार गर्नुभयो । ‘सडकको पर्खाल भत्किएकै हो, त्यो हामी बनाइदिन्छौँ’, उहाँ भन्नुहुन्छ, ‘क्याम्पसको जग्गा मिचिएको बारे थाहा भएन, मिचिएको रहेछ भने फिर्ता भैहाल्छ ।’ तर स्थानीय बासिन्दाले भने आफूहरुले पटक–पटक आग्रह गर्दा पनि सडकको पर्खाल भत्काएर तथा क्याम्पसको जग्गा मिचेर डोजर चलाइएको बताएका छन् । 

‘यसरी जग्गा मिचेर काम नगर्नुहोस् भनेका थियौँ’, स्थानीय नारायणबहादुर श्रेष्ठले भन्नुभयो, ‘एक दुई जनासँग त चर्काचर्की नै पर्‍यो, सकेको गरे हुन्छ भन्दै काम अघि बढाए भन्ने सुनिएको छ ।’  

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया