डोटी प्रहरीका लागि भवन अभाव: रातमा सुत्न र दिनमा काम गर्न सकस

 साउन १९, २०७६ आइतबार १५:४४:३७ | विमल बिष्ट
unn.prixa.net

डोटी - जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरीहरु वर्षाैँदेखि पालमुनि रात बिताउँदै आएका छन् ।

सुत्ने कोठा नभएका कारण डीएसपीसहित अन्य केही प्रहरी अधिकृतहरु जिल्ला प्रशासन कार्यालयको चौकीदार बस्न निर्माण गरिएको भवनमा सुत्दै आएका छन् । ब्यारेक नहुँदा प्रहरी कर्मचारीहरुलाई राति सुत्न समस्या भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो । 

‘प्रहरी सुत्ने भवन छैन, मसहित, इन्सपेक्टर साबहरु जिल्ला प्रशासनमा सुत्छाँ’, उहाँले भन्नुभयो, ‘अन्य प्रहरी कर्मचारीले भान्सा कोठामा सुत्नु परेको छ ।’
लामो समयदेखि भान्सा कोठालाई ब्यारेक भवन बनाएर प्रहरीहरु रात बिताउन बाध्य भएका छन् । राति ठूलो पानी पर्दा प्रहरीहरु पाल, प्लाष्टिक ओढेर सुत्नुपर्ने अवस्था आउने गरेको प्रहरी कर्मचारीको गुनासो छ । 

यतिमात्र नभइ जिल्ला प्रहरी कार्यालय डोटीमा महिला सुत्ने ब्यारेक पनि छैन । महिला ब्यारेक नहुँदा महिला प्रहरीहरुको अर्काको घरमा रहेको डेरामा बास बस्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी सुत्ने व्यारेक भवन नभएको जानकारी सबै तहमा भए पनि भवन बनाउन पहल कसैले पनि नगरेको प्रहरी कर्मचारीहरुको गुनासो छ । उनीहरु भन्छन्, ‘निरीक्षणमा आउँदा सबै हाकिमले हाम्रो अवस्था हेरेर जानुहुन्छ तर पहल कसैले गर्नु हुन्न, दिनभरी काम गर्दा राति सुखले आराम गर्न पनि पाइँदैन ।’

जिल्ला प्रहरी कार्यालयमा ७० जना प्रहरी कर्मचारीहरु भान्सा कोठामा रात बिताउने गर्छन् । त्यस्तै बिसं २०५१ सालमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीको कार्यालय भवन पनि जीर्ण अवस्थामा रहेको छ । भवनमा डीएसपी तथा इन्सपेक्टर बस्ने कक्षसमेत नहुँदा कामकाज गर्न पनि समस्या हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

७ कोठाको त्यस भवनमा एक एक ओटा महिला र पुरुष हिरासत, एउटा एसपी अफिस तथा एउटा सञ्चार शाखाका लागि गरी ४ कोठा छुट्टयाइएको छ । अन्य ३ कोठाहरुमा डीएसपीदेखि अन्य दर्जाका प्रहरीहरु मिलेर काम चलाइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयबाट तीन वर्ष पहिले भवन निर्माणका लागि बजेट आए पनि उक्त भवन बझाङ जिल्लामा बनाउने भन्ने हेडक्वाटरको अर्को आदेश भएपछि डोटी प्रहरीको समस्या ज्यूँ का त्यूँ छ ।

यस वर्ष प्रहरीको योजनाबाट भवन बनाउने बजेट आउनसक्नेमा डोटी प्रहरी निकै आशावादी छ । 
‘यो वर्ष भवनका लागि बजेट आउने कुरो भएको छ, बजेट आए हाम्रा समस्या हल हुनेछन्’ प्रहरी प्रवक्ता धामीले भन्नुभयो,‘ब्यारेक भवनका लागि माग गरेका थियौँ, बजेट आउँछ होला ।’ 

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका प्रहरी भवनहरुको अवस्थामा सुधार आए पनि जिल्ला प्रहरी कार्यालयको भवन तथा ब्यारेकको अवस्थामा भने कहिल्यै सुधार हुन सकेन । यतिमात्र नभइ डोटीमा जिल्ला प्रहरी प्रमुख (एसपी) बस्ने निवास पनि छैन । 

आफनो भवन नहुँदा जिल्ला प्रहरी प्रमुखले नगर विकास समिति डोटीको भवनलाई लामो समयदेखि निवासका रुपमा प्रयोग गर्दै आउनुभएको छ । 
जिल्ला प्रहरी कार्यालयसँग प्रर्याप्त जग्गा पनि नभएकाले प्रहरीको आन्तरिक तालिम लगायतका अन्य सुुरक्षाका तालिम गर्न पनि निकै समस्या हुने गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया