विषादी परीक्षणबारे दूतावासले पठाएको पत्र प्रधानमन्त्रीलाई समयमा नदिएर गल्ती भएकै हो: कृषिमन्त्री खनाल

 साउन १९, २०७६ आइतबार १७:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले गएको जेष्ठ २१ गते त्यस विषयमा बोल्नुभएको तर त्यसको दुई दिनपछि मात्रै भारतीय दूतावासको पत्र दिनु गल्ती भएको खनालले स्वीकार गर्नुभएको हो । आइतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कृषिमन्त्री खनालले प्रधानमन्त्री ओलीले बोल्नुअघि नै पत्र नदिएर आफूले नेतृत्व लिएको मन्त्रालयले गल्ती गरेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले विषादी परीक्षणसम्बन्धमा भारतबाट कुनै दबाब नआएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । ‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नुभयो, त्यो पत्र हामीले २३ गते मात्रै हातमा दियौँ’, मन्त्री खनालले भन्नुभयो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजोरी हो ।’

मन्त्री खनालले भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहोर्‍याउनु भयो । यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षणसम्बन्धी निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उहाँको स्पष्टीकरण थियो । 

मन्त्री खनालले आयातित तरकारीमा विषादी परीक्षणको काम जारी रहेको र त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले विषादी प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउन मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए । 

समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराउनु भएको थियो ।

समितिका सदस्यहरुले सरकारले विषादी परीक्षणको कामलाई गम्भीरतापूर्वक नलिएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया