सोलुखुम्बुको तिङ्गलामा कहिले हुन्छ चुनाव ?

 साउन २१, २०७६ मंगलबार १४:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वडाध्यक्षसहित सबै सदस्यको पद खाली रहेको सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–११, आउँदो मंसिर १४ मा हुने उपचुनावको सूचीमा समावेश भएको छैन ।

निर्वाचन आयोगले पालिका प्रमुख तथा वडाध्यक्ष गरी ४६ वटा पदको रिक्त सूची सार्वजनिक गरेको भए पनि सबै पद खालि रहेको सोलु दूधकुण्ड नगरपालिका ११ भने नसमेटिएको हो । साविकको तिङ्गला गाविस नेचासल्यान गाउँपालिकामा समेटिएपछि सोलु दूधकुण्ड नगरपालिकामा समेटिनुपर्ने माग गर्दै त्यहाँका नागरिकले २०७४ सालमा भएको पालिका, प्रदेश र संघीय सबै चुनाव बहिष्कार गरेका थिए ।

मन्त्रिपरिषद्ले तिङ्गलालाई सोलु दूधकुण्ड नगरपालिकामा समेट्ने निर्णय गरेर सोलु दूधकुण्ड नगरपालिका–११ कायम भइसकेको छ । अहिले वडा सचिवको भरमा वडा चलिरहेकोले चाँडो चुनाव गर्न त्यहाँका बासिन्दाले माग गरेको भए पनि उपचुनावको मिति तोक्दा सोलु दूधकुण्ड ११ लाई नसमेटेको मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।

तिङ्गलामा पनि मंसिर १४ मै चुनाव गराउन माग गर्दै आफूहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटेर ध्यानाकर्षण गराएको शेर्पाले बताउनुभयो ।

जनप्रतिनिधिविहीन भएको तिङ्गलामा तत्काल चुनाव गराउन सम्बन्धित निकायमा पटक–पटक आग्रह गरे पनि यसपटक समेत चुनावको कार्यसूची नराखिँदा आफू अचम्ममा परेको नगरप्रमुख शेर्पाले बताउनुभयो ।

मन्त्रालयले केही समयअघि नगरपालिकासँग जनप्रतिनिधि नरहेको वडाको विवरण माग गरेको थियो । त्यसैअनुसार मन्त्रालयमा विवरण पठाएको नगरप्रमुख शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले विवरण माग गरेको र हामीले पटकपटक निर्वाचन गराउन अनुरोध गरेकाले यसपटक निर्वाचन हुन्छ भन्ने लागेको थियो, यसपटक पनि निर्वाचनको कार्यसूची सार्वजनिक नगरिँदा अचम्म लागेको छ ।’ 

यता निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने तिङ्गलामा उपचुनाव नभई विशेष चुनाव गर्नुपर्ने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताउनुभयो ।   

कहाँ कहाँ हुँदैछ चुनाव ?

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया