जुम्लाका सांसद महतको आरोप : कुलमान श्री ३ महाराज भैसके, कमिसन आउने ठाउँमा मात्रै काम गर्छन्

 साउन २१, २०७६ मंगलबार १५:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जुम्लाका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराज बन्न खोजेको आरोप लगाउनुभएको छ ।

जुम्लामा लामो समयसम्म विद्युत सेवा बन्द भएको तर पटक–पटक आग्रह गर्दा पनि विद्युत सेवा नपुर्‍याएको भन्दै महतले घिसिङ र पुनलाई श्री ३ महाराजको संज्ञा दिनुभएको हो ।

‘२०३८ सालमा बनेको २ सय किलोवाटको जलविद्युत आयोजना अहिले बिग्रेर थन्किएको छ, त्यो बन्न अझै ३-४ महिना लाग्छ, जुम्ला अँध्यारोमा छ, धेरै मिडियामा आयो, चर्चा भयो, हामीले संसदमा पनि कुरा उठायौँ, हाम्रा श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनलाई भेट्न खोज्यौँ, तर भेटन पनि पाइँदैन, फोन पनि उठ्दैन’, सांसद महतले भन्नुभयो ।

संसद भवनमा  निकै आक्रोशित बनेका महतको रिस यत्तिमा थामिएन । उहाँले भन्नुभयो, ‘के नेपालमा विद्युत प्राधिकरण छैन ? जुम्ला जिल्ला नेपालको भूमि होइन  ? जुम्लामा १ लाख मान्छे बस्छन्, उनीहरुलाई उज्यालो चाहिन्न ?’

उहाँले भारतमा बिजुली बेचेको भनेर खुशी हुनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । ‘यति प्रगति गर्‍यौं र उति गर्‍यौं भन्छन्, अनि भारतमा पनि बिजुली बेचे रे, कृपया अहिले भारतलाई होइन, हामीलाई बेचिदिनुस्, जुम्लामा पनि नागरिक छन्, विद्यार्थी छन्, बिरामी छन्, हाम्रा श्री ३ महाराजलाई भन्न चाहन्छु, जुम्लाको समस्या हेरिदिनुपर्‍यो ।’

अहिले जुम्लामा डिजल प्लान्ट राख्ने तयारी भए पनि मासिक १५  लाखसम्म खर्च आउने उहाँको भनाइ छ ।

सांसद महतले विद्युत प्राधिकरण र मन्त्रीले कमिसन आउने ठाउँमा मात्रै काम गरेको  पनि आरोप लगाउनभुयो । ‘यिनीहरुको सेवा वा कामकाज जहाँ कमिसन आउँछ त्यहाँ मात्रै विस्तार गर्छन भन्ने सुनेको थिएँ, आज मलाइ यो विश्वास लागेको छ, यी श्री ३ महाराजहरुले जहाँ पैसा र कमिसन आउँछ त्यहाँ मात्रै काम गर्ने रहेछन्’, महतले भन्नुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया