नेपालीले फेरि राजतन्त्र स्वीकार गर्दैनन् : अध्यक्ष नेपाल

 चैत १५, २०८१ शुक्रबार १७:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएकाे छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डाैमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकले फेरि राजतन्त्र स्वीकार नगर्ने बताउनुभयो । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली नागरिकलाई दास बनाएको भन्दै उहाँले अब नेपाली नागरिकले कसैको दासता स्वीकार नगर्ने बताउनुभयो । शाह वंशले देशलाई बर्बाद बनाएको उहाँकाे आराेप छ ।

नेपालले भन्नुभयो, ‘अब यो देश शाही वंशतर्फ फर्किन सक्दैन, राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो देश वंश र परिवारको शासनमा फर्किन सक्दैन । नेपाली जनता कसैको दास बन्न चाँहदैनन् ।२४० वर्षको शाह वंशको इतिहास, १०४ वर्षको राणाकालीन शासनकाे इतिहास हेराैँ । उनीहरूले देशलाई कति लुटेका छन् ? हामी चुनौती दिन चाहन्छौँ यो देशमा फेरि ती वंशको शासन ल्याउन खोज्ने कसैले कुचेष्टा गर्छ भने उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’

अध्यक्ष नेपालले नागरिकको समस्याबाट आफूहरू चिन्तित भएको जिकिर गर्नुभयाे । पूँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरूको नालायकीपनका कारण नागरिकले दुःख पाएको उहाँकाे भनाइ छ ।

नेपालले सरकारले नागरिकको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप पनि लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार नागरिकबाट टाढिएकाले नागरिककाे पीडा बुझ्न नसकेको बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया