प्रतिपक्षीले सदाशयता देखाएको छ, सरकारले पनि विनम्रता देखाएको छ : कांग्रेस सांसद गिरी

 साउन २१, २०७६ मंगलबार १५:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले संसदकाे अवरोध खोल्ने सन्दर्भमा भएको सहमतिलाई राजनीतिक आरोप प्रत्यारोपको विषय नबनाउन सबै दलको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले सत्तापक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्न गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न सचेत गराउनुभएको हो ।

संसदीय प्रणालीका बारेमा फरक मत राख्ने र वर्गशत्रुका रुपमा रहेका दुई पक्षको खतरनाक द्वन्द्वबाट निकास निकालेर प्रतिनिधिसभालाई स्वीकार गरेको स्मरण गराउदै उहाँले असहमत हुनका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेकाले त्यसको मर्यादा कायम गर्नका लागि सहभागी सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सभा अवरोधका सन्दर्भमा हिजो भएको सहमतिको बारेमा अहिले टिका टिप्पणी हुँदैछन् । प्रतिपक्ष हार्‍याे, प्रतिपक्षीले सम्झौता खोज्यो । होइन, सत्तापक्ष आत्तियो । सत्तापक्षले प्रतिपक्षको मान्यो । यी मेरा कानमा परेका शब्दहरु हुन् । हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आ आफ्नो ठाउँबाट योगदान गरेर विशेष गरी सभामुखकै पहलबाट भएको हो । यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोस् । प्रतिपक्षीले उच्चकोटीको सदाशयता देखाएको छ । सरकारले पनि विनम्रता देखाएको छ ।’

संसदीय प्रणालीलाई गन्तव्य र सफलतामा पुर्‍याउने काम चुनौतीपूर्ण रहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले विद्यमान हिंसाको परम्परा, बेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचार लगायतले प्रणालीलाई नै असफल बनाउन लागेकाले प्रणालीलाई जीवित राख्न आरोप प्रत्यारोपमा नलागी परस्पर सम्मान गर्दै प्रणाली जोगाउने तर्फ दृढ हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट प्रभावितका लागि संघीय राज्यको सिद्धान्त पालना नहुन्जेल उदारतापूर्वक केन्द्र सरकारबाट अनुदान पठाउने व्यवस्था मिलाउन गृहमन्त्रालय र सरकारलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया