डेंगुबाट ४ महिनामा ३ हजार ४ सय २५ बिरामी, पहाडी जिल्लामा पनि संक्रमण बढ्दो

 साउन २५, २०७६ शनिबार ८:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन् । 

गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बितेका ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन् । मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन् । 

गएको वैशााख अन्तिम हप्ता धरानमा देखिएको डेंगुले महामारीको रुप लिएको छ । प्रदेश २ का पर्सा, सप्तरी, महोत्तरी र सिराहामा गरी १२ जना भेटिएका छन् । सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको छ । काठमाण्डौ उपत्यकाभित्र ९ जना बिरामी भएको पाइएको छ । 

काठमाण्डौमा ६ र ललितपुरमा तीन जनामा डेंगु भेटिएको हो । प्रदेश तीनमा मकवानपुरमा सबैभन्दा धेरै ८३ जना डेंगुबाट प्रभावित भएका छन् । बितेका ४ महिनामा प्रदेश तीनमा १ सय २६ जना बिरामी भेटिएका महाशाखाले जनाएको छ । 

त्यस्तै गण्डकीमा २६, प्रदेश ५ मा ९६, कर्णालीमा एक र सुदूर पश्चिममा १२ जना बिरामी भएका छन् । लामखुट्टेले टोक्दा डेंगु हुने गर्छ । पानी जम्ने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार डेंगुका कारण बढी ज्वरो आउँछ । टाउको, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता डेंगुका साधारण लक्षण हुन् ।

डेंगुबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने र लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने डाक्टरको सल्लाह छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया