डेटिङ जानुपर्ने पीरले शनिबार नआइदियोस् जस्तो लाग्थ्यो : आर्यन सिग्देल

 साउन २५, २०७६ शनिबार ११:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता आर्यन सिग्देललाई परिवारसँग समय बिताउँदा निकै रमाइलो लाग्छ । तर सिनेमाको व्यस्तताले उनी परिवारसँग त्यति धेरै समय बिताउन पाउँदैनन् ।

यतिबेला उनी सिनेमा ‘हजार जुनीसम्म’ को प्रमोशनमा व्यस्त छन् । ‘हजार जुनीसम्म’ साउन ३० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । आफैले निर्माण गरेको सिनेमा ‘कायरा’ प्रदर्शनमा आएको झण्डै एक वर्षपछि सिनेमा हजार जुनी सम्म मार्फत दर्शकसँग साक्षातकार गर्दै छन् ।

प्रस्तुत छ उनै अभिनेता सिग्देलले आफ्नो बाल्यकाल, युवावस्थासँगै सिनेमासँग जोडिएका रमाइला किस्साहरुका बारेमा गरेकोकुराकानीको सम्पादित अंश उनकै लयमा  ।

‘हजार जुनीसम्म’ एउटा फूलको माला 

कलाकार भएपछि सबैलाई राम्रो चलचित्रमा काम गर्ने रहर हुन्छ र यो स्वभाविक हो । आफूले गरेको काम दर्शकले मूल्यांकन गरिदिए हुन्थ्यो भन्ने प्रत्येक पटक लाग्दो रहेछ । सुरु–सुरुमा त धेरै नै लाग्थ्यो पछिपछि केही कम भए पनि लाग्दै नलाग्ने भन्ने त हुँदो रहेनछ । ‘हजार जुनीसम्म’मा काम गर्न पाउदा एकदमै खुशी लागेको छ । एउटा राम्रो निर्देशकले बनाएको एउटा राम्रो चलचित्र हो ‘हजार जुनीसम्म’ । र त्यो चलचित्रमासबै राम्रा कलाकारहरुले नै अभिनय गर्नुभएको छ । 

हुन त नयाँ त्यस्तो केही छैन हाम्रो समाजमा हुने गरेका घटनाहरुलाई नै चलचित्रमा समावेश गरिएको छ । तर हजारौ फूलहरुलाई समेटेर, मिलाएर एउटा राम्रो माला बनाएको जूतै हो चलचित्र ‘हजार जुनीसम्म’ ।

कोठामा टीभी हेरेर एक्लै नाच्थेँ

बाल्यकाल मेरो थानकोटमै बित्यो । म सानैदेखि अलि फरक स्वभावको थिएँ । अहिले पनि त्यस्तै नै छु । मेरो आफ्नो छुट्टै कोठा थियो । म कोठा थुनेर बस्थेँ । डान्स गर्थे अलि–अलि । छुट्टीको दिन परिवारहरु सबै मिलेर सिनेमा हेर्न गइन्थ्यो । सिनेमा हेरेर त्यहाँको बाल कलाकारको अभिनय आएर घरमा गर्ने गर्थे । त्यस्तो ठूलो बदमासी गरेको भने छैन ।

घरमा भएको बेलामा सामान बिगार्ने कामहरु चाहिँ म धेरै गर्ने गर्थे । ममीले त्यस्तो पिटी हाल्नु हुँदैनथ्यो । बाबाले चाहिँ काम बिगार्यो की पिटी हाल्नु हुन्थ्यो । हाम्रो घर नजिकै एउटा भिडियो पार्लर हुन्थ्यो । एक दिन साथीले क्या रमाइलो हुन्छ हिँड् मिथुनको फिल्म आएको छ भन्यो । गएर सिनेमा हेरेँ बाबाले स्कुलबाट भागेर गएको कहाँबाट थाहा पाउनु भएछ । त्यो बेलामा बाबाको पिटाइ नराम्रोसँग भेटेको थिएँ ।

म पहिला बोर्डिङ्ग पढेको मान्छे पछि माध्यमिक विद्यालयमा कक्षा आठ र नौ पढ्दा स्कुलमा फर्स्ट हुने मान्छे सेकेन्ड भएँ । सेकेण्ड भएपछि पुरस्कार वितरण कार्यक्रममा पनि नबसी म घर गएँ । त्यो पछि घरमा आएर बाबाको पिटाई खाएँ । पिटाई खाएपछि ढोका थुनेर बस्ने मेरो बानी थियो । मैले बदमासी र चकचक गर्ने अवसर स्कुल पढ्दा खासै पाइनँ ।

मेरो सिद्धान्त पहिल्यैबाट कसैसँग पनि झगडा नगरौँ भन्ने नै थियो । अहिलेसम्म जीवनमा बुबा बाहेक कसैको कुटाइ खाएको पनि छैन कसैलाई पिटेको पनि छैन । सिनेमामा भने फाइट गर्ने, कुट्ने र अलिअलि कुटाइ खाने भएकै छ । मेरो विद्यालयको समय टेलिभिजन हेरेरै बित्यो । ढोका थुनेर डान्स गर्थेँ । तर अरुको अगाडि नाच्न मन लाग्दैन्थ्यो । क्यामरामा आएपछि थाहा छैन म कसरी खुल्न सकेँ । नत्र पहिला चाहिं एकदमै अप्ठ्यारो मान्ने मान्छे हो । 

एसएलसी दिँदाको खुशी

एसएलसी दिँदाको खुशी भन्दा पनि परीक्षा सकेपछि हामी साथीहरु सबै जना चार किलोमिटरको बाटो हिड्दैँ आएका थियाैँ त्यो निकै मज्जाको पल थियो जुन अहिले पनि याद छ । रिजल्ट आएपछि पास हुन्छु भन्ने थाहा थियो त्यही भएर त्यस्तो केही पनि भएन ।

अहिले त मलाई स्कुल जान पाएको भए कति मज्जा आउँथ्यो होला भन्ने हुन्छ । स्कुल पढ्दा मलाई मन पर्ने विषय गणित थियो । उत्तर सिधै आउँथ्यो त्यही भएर सजिलो लाग्थ्यो । साहित्यमा भने म लेख्न सक्दिन्थेँ । अरुले तीनचार पेज लेख्दा मैले बल्ल आधी पेज लेखेको हुन्थेँ । 

केटीले मन पराउँछे भन्ने थाहा पाएर स्कुल नै गइनँ

मलाई घुमाएर कुरा गर्न आउँदैन । मेरो स्कुल पढ्दा लभ परेन । कक्षा दशमा पढ्दा एक जनाले सुन न तँलाई त्यो केटीले मन पराउँछे भनेर भन्दिँदा म त्यसको तीनदिन सम्म स्कुल नै गइनँ । म त्यसरी भागेँ । ती केटीले मलाई हेर्थिन् । म पनि हेर्थेँ । म पनि राम्रै थिएँ उनी पनि राम्रै  । राम्रो मान्छेलाई त हेर्न पाइयो नि ! उनको एसएलसी सकिएलगत्तै विवाह भयो ।

त्यसपछि मैले उनलाई अहिलेसम्म पनि भेटेको छैन । कक्षामा बस्दा मेरो बेन्चको तीनजना साथीसँग बोलचाल हुन्थ्यो । अरुसँग म खासै बोल्दैनथेँ ।  फेसबुकमा यसो सम्झिएको साथीहरुलाई खोज्छु तर म भेट्दिनँ ।

किशोर अवस्थामा डर मानी–मानी परेको त्यो लभ कस्तो होला ! आफै अन्दाज लगाउन सक्दिनँ । मलाई एकदमै डर लाग्थ्यो । प्लस टू मेरो विरेन्द्र सैनिकबाट भएको हो । त्यहाँको वार्डनले मलाई यो साइको हो कि क्या हो ! भन्थ्यो (लामो हासोँ)  । म प्रायः एक्लै बस्थेँ । प्लस टूमा पनि लभ परेन मेरो त ।

पहिलो प्रेम

मेरो पहिलो प्रेम भन्या जस्तो भएन । लभ भन्ने कुरा कहिल्यै परेन । एकपटक म एउटा अफिसमा जाँदै थिएँ । त्यहाँ जाँदाजाँदै अर्को अफिसको केटीले हेरिरहेको हुने सधैँ । हाम्रो हेराहेर हुन्थ्यो । हामी एक अर्कालाई हेरेर मुस्काउन थाल्यौँ । त्यसपछि उनले मलाई भेट्न बोलाइन् । म पनि गएँ । त्यहाँ हाम्रो नम्बर साटाटाट भयो ।

म एकछिनमा कल गर्छु अहिले ममी बाबासँग छु भनेँ । पछि म पनि फोनमा झुन्डिएर बस्न थालेँ । त्यसपछि एकछिन फोनमा कुरा भयो । अर्को चोटी भेट्न बोलाइन अनि मलाई आई लभ यू भनिन् । म त  अलमल्ल परेँ । स्तब्ध भएँ । के भन्ने भयो ।  किन भने माया प्रेममा मेरो अनुभव केही पनि थिएन ।

पछि मैले हैन हामी त्यस्तो नगरौँ हामी मिल्ने साथी मात्र हौँ भने । त्यसपछि त उनी ग्वाँग्वाँ रोएर आई लभ यू भनिन् । ठिक छ ! ठिक छ ! आई लभ यू टू, आई लभ यू टू भनेँ अत्तालिएर (लामो हाँसो) । त्यो बेलामा मसँग जागिर त थिएन । उनी भने राम्रो ठाँउमा काम गर्थिन् ।

त्यो बेला उनीसँग राम्रो काम हुने आफूसँग त्यस्तो सारो पैसा नहुने । मैले अलि–अलि ड्रामा र स्टेज शो गरेर पैसा कमाउँथे । अनि शनिबार आयो कि डेटिङ्ग जाने तनावमा बस्थेँ । आफूलाई फेरि त्यो डेटिङ भनेपछि मरे जान मन नलाग्ने ।

पहिलो डेटमा जादाँ पनि चुप लागेर बसिरहेको थिएँ । कहिले समय सकिन्छ ! भनेर घडी हेरेर बसेको थिएँ ।  उनलाई मैले धेरै शनिबार काम छ भनेर टारेँ । तर पछि त्यो सम्बन्ध पनि टाढिँदै गयो । त्यसपछि कोही रोए पनि म आई लभ यू टू भन्दिन भन्ने भयो (लामो हासोँ) । त्यसपछि म यहाँ छु । 

-उज्यालाे अनलाइन र गफगाफ डट कमकाे सहकार्यमा

अन्तिम अपडेट: भदौ ३, २०७६

तपाईको प्रतिक्रिया