वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

 साउन ३०, २०७६ बिहिबार ८:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । 

निमोनियाका कारण गएको साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीमा रहेको हिमाल अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

उहाँको जन्म १९७९ फागुन ६ गते काठमाण्डाैको गैरीधारामा भएको थियो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका नाति अवनी दीक्षितका अनुसार दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । माधवी ग्रन्थका लागि उहाँलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ ।

मदनमणि दीक्षितका प्रकाशित कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं.२०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं.२०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो ? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान १३. ऋग्वेद केही प्रमुख सूक्त (२०६५ वि. सं.)
उहाँले समीक्षा साप्ताहिकको सम्पादक भएर काम गर्नुभएको थियो भने उहाँका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित छन् ।


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया