शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो

 साउन ३०, २०७६ बिहीबार १५:७:३२ | रासस
unn.prixa.net

ललितपुर - शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पुर्‍याएको योगदानको बारेमा चर्चा गरियो ।

ललितपुर बखुमबहाल निवासी पिता माधवराज जोशी र माता रत्नमाया जोशीका मइला सुपुत्रका रुपमा विसं १९५० भदौ १३ गते जनैपूर्णिमाको दिन भारतको वनारसमा जन्मिनुभएको शास्त्रीलाई बिसं १९९७ माघ १० गते तत्कालीन राणा शासकले टेकुको पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

नेपाली भाषा, संस्कृति, धर्म र राष्ट्रियताको संरक्षणको निम्ति सदैव वकालत गर्ने क्रममा उहाँलाई देशद्रोहको अभियोग लगाइएको हो । नेपालका चार शहीदमध्ये शास्त्रीलाई शहीद शिरोमणि भनेर चिन्ने गरिन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले नेपालमा गरेको बलिदानबाट विसं २००७ मा प्रजातन्त्र स्थापना भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शोभा शाक्यले शहीदको मार्गदर्शनलाई सदैव सम्मान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'सरकारसँग प्रदेश नं ३ का १३ जिल्लालाई पायक पर्ने गरी काभ्रेमा सदरमुकाम स्थापना गराउन पहल गरिरहेको छु ।'

ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्यालले नेपालका चार वीर शहीदको योगदानलाई कदर गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिका वडा नं १० का सचिव एकनारायण काफ्लेले शास्त्रीलगायत अन्य तीन महान् शहीदप्रति सम्मान व्यक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

शहीद स्मारक समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले शास्त्री आर्य समाजका एक महान् प्रचारक रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले बाग्मतीको पुलदेखि ललितपुर महानगरपालिका वडा नं ११ शास्त्रीको घरसम्मको बाटोलाई शुक्रराज मार्ग कार्यान्वयन गराउन महानगरपालिकालाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया