टाइम बमकाे खतराभन्दा नेपालमा भूकम्पकाे जाेखिम बढी : विज्ञ

 साउन ३०, २०७६ बिहीबार १६:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विज्ञहरुले भूकम्पको दृष्टिले नेपाल टाइम बमकाे खतराभन्दा नि माथि रहेको भन्दै समयमै आवश्यक पूर्व तयारी गर्न सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११औँ स्थानमा रहेको जानकारी हुँदाहुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई बेवास्ता गरिएको भन्दै विज्ञहरुले  तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका हुन् ।

विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगालाल तुलाधरले भुइँचालोको दृष्टिकोणबाट नेपाल टाइम बम काे खतराभन्दा माथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्व तयारी सुरु गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाइएका संरचना, इन्जिनियरिङ अध्ययनबिनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तारलगायतले बाढी पहिरो जस्तो विपद् निम्तने गरेको भन्दै उहाँले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूची नुसार राहत वितरण हुन नसकेको गुनासो गर्नुभयो । सरोकारवाला तथा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सीमित हुने गरेको टिप्पणी पनि उहाँले गर्नुभयो ।

विपद्का बेला मानवीय उद्धार पहिलो प्राथमिकता भए पनि त्यसो हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानवीय संवेदनशीलता पनि खतरामा परेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फी लिनेहरुको भिड लाग्नु दु:खद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भ"मिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'बस पल्टिएको छ । मान्छे मरिरहेका छन् । छटपटाइरहेका छन् । त्यो स्थानमा पुलिस, एपीएफ पुगेका छन् । सबैले मान्छेहरु तानेर ल्याइरहेका छन् । बाँचेकाहरुले टक्क सेल्फी खिचेर हेरेरहका छन् । ऊ पनि पहिलो उद्धारकर्ता हुनुपर्ने हो । एक सेकेण्ड मात्रै समय दिंदा विपदमा परेको मान्छे मृत्युबाट बच्न सक्छ । यो कस्तो कल्चर सुरु भयो ? १२ वर्षपछिको महोत्सव जस्तो लाजै लाग्ने प्रकारको ।'

कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया