प्रज्ञा–प्रतिष्ठानले ल्यायो ‘बालप्रज्ञा’ : विविध विषय र भाषालाई स्थान

 साउन ३२, २०७६ शनिबार ११:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रज्ञा प्रतिष्ठानले  अर्धवार्षिक बाल साहित्यिक पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गरेको छ । 

बालसाहित्य तथा लोकवार्ता विभागको संयोजनमा प्रकाशित १२० पृष्ठको रङ्गीन पत्रिका ‘बालप्रज्ञा’ को पहिलो अङ्कमा प्रधानमन्त्री तथा प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओली, प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीका प्रेरणामूलक शुभकामना रहेका छन् । 

त्यसैगरी वाङ्मय शताब्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीका रोचक र प्रेरणादायी बाल्यकालीन अनुभूतिहरू समावेश गरिएका छन् ।

पत्रिकामा सबै पुस्ता, सबै विधा, विविध विषय क्षेत्र र विविध भाषालाई स्थान दिइएको छ । बालरुचि र भावनालाई समेट्ने खालका रचनाहरू समावेश गरिएको ‘बालप्रज्ञा’ को प्रधान सम्पादकमा विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपाल रहनुभएको छ भने सम्पादक समूहमा नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना, देवु लुइँटेल र कार्यकारी सम्पादकमा प्रा.डा. ध्रुव घिमिरे हुनुहुन्छ ।  

पत्रिकाको मूल्य दुई सय रुपैयाँ रहेको छ । पत्रिका प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्षमा उपलब्ध छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया