नगरपालिकाले चासो नदिएपछि बन्द सडक बस व्यवसायीले खने

 भदौ २, २०७६ सोमबार १४:२१:४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – डेढ महिनादेखि पहिरोले अवरुद्ध सडक बस व्यवसायीहरुको सक्रियतामा सदरमुकाम भोजपुरेदेखि टक्सार, गुम्बा हुँदै दक्षिणका तीन स्थानीय तह जोड्ने सडक सञ्चालनमा आएको छ ।

सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदेखाएपछि व्यवसायीहरुले बन्द रहेको मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । दक्षिणका तीन वटा आमचोक, रामप्रसाद राई, हतुवागढी गाउँपालिका साथै दिक्तेल खोटेहाङ गाउँपालिकासम्म जोडिएको सडक मर्मतमा बस व्यवसायी आफै जुटेका हुन् ।

व्यवसायीहरुले गत असारको वर्षातले भत्काएको सडक आफ्नै पहलमा मर्मत गरेर यातयात सञ्चालनमा ल्याएका छन् । ‘नगरपालिकामा सडक मर्मतको लागि धेरै पटक अनुरोध गर्‍यौँ, चासो नदिएपछि झण्डै १२ किलोमिटर सडक डोजर लगाएर बनायौँ’, तत्कालीन संयुक्त बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले बताउनुभयो । मोक्तान भन्नुभयो, ‘सरोकारवाला पक्षलाई धेरै पटक गर्दा समेत चासो नदिएपछि हामी आफैले मर्मतमा गर्‍यौँ ।’

नगरपालिकालाई धेरै पटकको अनुरोधपछि काम थाले पनि नगरपालिकाले काम बीचैमा छोडेपछि व्यावसायी आफैले मिलेर सडक मर्मत गरेका हुन् । नगरपालिकाले ३ दिन लगाएर करिब ५० मिटर मात्र सडक बनाएर बजेट सक्न देखावटी सडक मर्मत गरेको व्यवसायीहरु बताउँछन् ।

‘१२ किलोमिटर सडक हामीले दुई दिनमा मर्मत गरेर यातायात सञ्चालन ल्याएका छाैँ, धेरै पटक अनुरोध गरेपछि नगरपालिकाले तीन दिनमा झण्डै ५० मिटर सडक मात्र खनेको छ । यसले नगरपालिका काम गर्नभन्दा पनि बजेट सक्न लागेको देखिन्छ’, तत्कालीन संयुक्त बस व्यवसायी संघका अध्यक्ष मोक्तान बताउनुहुन्छ ।

नगरपालिकाले गर्नुपर्ने काममा नागरिकको सेवालाई ध्यानमा राख्दै व्यवासायी अग्रसर भएपछि स्थानीयले पनि सडक मर्मतमा सहयोग गरेका थिए ।

सडक मर्मतमा पटक–पटक अनुरोध गर्दा समेत नगरपालिकाले चासो नदिएपछि उनीहरु आक्रोशित बनेका छन् । ‘बाटोमा पहिरो गएर अवरोध भएको एक महिना बढी भयो, तर सरोकारवाला पक्षले भने कुनै चासो देखाएन,  दैनिक उपभोग्य सामान ढुवानी, गर्भवती, बिरामी तथा अशक्त सर्वसाधारणलाई डोको तथा स्ट्रेचरमा बोकेर ल्याइरहेका छन्, यसमा जनप्रतिनिधिको ध्यान कहाँ गयो ?’, स्थानीय दिनेशकुमार मगरले गुनासो गर्नुभयो ।

सदरमुकामबाट दक्षिणका तीन ओटा गाउँपालिकासँग जोड्ने मुख्य सडक हो । पिखुला खोलापारीको सडक त्यहाँका स्थानीय तहले यसअघि नै मर्मत गरेको भए पनि नगरपालिका क्षेत्रको सडक भने बन्द रहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया