बैंकको ब्याजदर २ प्रतिशतसम्म घट्न सक्ने, निजी क्षेत्र उत्साहित

 असार २७, २०७५ बुधबार १८:२४:१५ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आउँदो वर्षको लागि सार्वजनिक गरेको मौद्रिक नीतिले व्याजदर घट्ने भएको छ ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले केही समयपछि ब्याजदर २ प्रतिशतसम्म घट्न सक्ने जनाएको छ । 

मौद्रिक नीतिमा स्प्रेड दर अर्थात निक्षेप संकलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याजदर ५ बाट साढे ४ प्रतिशतमा झरेको र वाणिज्य बैंकहरुमा नगद मौज्दाज अनुपात पनि ६ प्रतिशतबाट ४ प्रतिशतमा झारिएकाले ब्याजदर घट्ने सम्भावना रहेको हो । 

‘तत्काललाई त स्थिर नै रहला, तर स्पे्रड दर पनि घटेको र सिआरआर ६ बाट ४ प्रतिशतमा ल्याउनु भनेको आधारदर कम हुनु हो, आधारदर नै कम भैसकेपछि कर्जाको दर स्वत कम हुन्छ’ नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र बहादु ढुंगानाले भन्नुभयो, ‘यसरी हेर्दा केही समयभित्र डेढ देखि २ प्रतिशतसम्म ब्याजदर घट्न सक्छ ।’

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि मौद्रिक नीतिले ब्याजदर घटाएर लगानीकर्तालाई केही सहज हुने अपेक्षा गरिएको बताउनुभयो । 

‘ब्याजदर पक्कै पनि घट्छ होला, नयाँ जुन व्यवस्था आएको छ त्यसले डेढ देखि २ प्रतिशतसम्म ब्याजदर घट्ने हामीले अपेक्षा गरेका छौं’ उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नुभयो, ‘यदी ब्याजदर घट्यो भने लगानीको लागि हामी अझै उत्साहित हुनेछौं ।’

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया