मान्छे नबस्दा खण्डहर बन्दै डोटीको मुक्त हलिया बस्ती

 भदौ १४, २०७६ शनिबार १०:५३:५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका-२, बगलेकमा मुक्त हलिया पुर्नस्थापनाका लागि निर्माण गरिएको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर बन्दै गएको छ ।

पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको बस्तीमा कोही बसेका छैनन् । सरकारले यसै वर्ष पुर्नस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुर्नस्थापना हुनेमा शंका पैदा भएको छ । सरकारले निर्माण गरेको त्यस बस्तीमा पानी र बिजुली नहुँदा मुक्त हलियाहरु बस्न नसकेको मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले घर बनायो तर यहाँ पानी बिजुली बत्ती छैन, हामी कसरी बस्ने?’ हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, बिजुली तथा न्यूनतम विकासका पूर्वाधार हुनुपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको जंङ्गलमा बस्ती बसाउँदा त्यहाँ समस्या भएको मुक्त हलियाहरु बताउँछन् । 

हलियालाई हलिया नै बनाइ राख्नका लागि बगलेकको जंङ्गलमा बस्ती राख्न प्रपन्च गरिएको हलिया अभियन्ता गोरखबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हलिया समुदायका व्यक्ति हिजोकै अवस्थामा राख्ने षड्यन्त्र गर्दै जंगलमा बस्ती बसाइएको हो ।’

कर्मचारी अभाव भएका कारण जिल्लाभर मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिलसागर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी थोरै कर्मचारी छौँ, त्यसैले प्रत्येक घरको अनुगमन गर्न सकिने अवस्था छैन,सबै कर्मचारी पूर्ति भएपछि मात्रै अनुगमन गर्न सक्छौँ ।’

मुक्त हलिया पुर्नस्थापना बस्तीकाे कुनै घर पनि मापदण्ड अनुसार नबनेको स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएको भूइँतले घर मात्र छन् भने उचाइ ७ फिट भन्दा कम छ । भवन बने पनि हलियाहरु घरमा नबस्दा झन समस्या भएको पूर्विचौकी गाउँपालिकाका स्थानीय चक्र कठायतले बताउनुभयो ।

मापदण्ड अनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको अनुगमनको जिम्मा पाएको मालपोत कार्यालय डोटीका प्रमुख जोशीले स्वीकार गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘बनेका घरहरु मैले आफैँले हेर्न पाएको त छैन, तर घर खासै राम्रो नबनेको भन्ने सुनेको छु, केही दिनमा अनुमन गर्न जानेछु।’

दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहरा जस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा किन्न २ लाख र घर बनाउन ३ लाख २५ हजार रुपैयाँ दिएको भए पनि घर बनाउँदा झण्डै १ लाख १२ हजार रुपैयाँ मात्र खर्च गरेको एक मुक्त हलिया दिपक कोलीले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘घर बनाउन १ लाख १२ हजार खर्च गरियो, अरु पैसा कहाँ सकियो थाहा छैन ।’

बस्तीमा बनाइएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्व अध्यक्ष डम्मर विकले आरोप लगाउनुभयो । 

पूर्विचौकी गाउँपालिका-२, बगलेक (बाटे ओखड) को जमिन खरिद पनि रहस्यमय छ । बिक्रम सम्वत २०७४ असारमा नमुना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरिदका लागि काटिएको ७८ लाख रुपैयाँको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो ।

हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको त्याे जमिन २०७५ असारमा १८ जनाकाे नाउँमा पास गरिएको छ । मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको जमिन उपयुक्त नभएको जानकारी हुँदा हुँदै पनि किन जमिन किनियाे भन्ने रहस्य खुलेकाे छैन ।

पूर्विचौकी गाउँपालिका-२, बगलेक र दिपायल सिलगढी नगरपालिका-७ मा मुक्त हलियाका ३० परिवारको पुर्नस्थापना गर्न जग्गा किनेर घर बनाइएको छ । प्रति परिवार ५ लाख २५ हजारको लगानी भए पनि उनीहरु पुरानै घरमा बस्दै आएको हलिया अगुवा डम्मर बिकले बताउनुभयो । उहाँका अनुसार ३० परिवारमा मात्र नेपाल सरकारले १ करोड ५७ लाख ५० हजार लगानी गरे पनि हलियाहरु भने लालपुर्जा नभएको जमिनमा बस्दै आएका छन् । उनिहरुका लागि बनाइएका घर जीर्ण बन्दै गएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया