डेंगी भए पनि नआत्तिऔँ, बेलैमा डाक्टरलाई भेटौँ, सल्लाह लिऔँ

 भदौ २४, २०७६ मंगलबार ११:२७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डेंगीको संक्रमण हुनासाथ नआत्तिन डाक्टरले सुझाव दिएका छन् । डेंगीको संक्रमण फैलिने क्रम बढे पनि यसबाट जोगिन र संक्रमण भइहाले निको पार्न सकिने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका हुन् ।

डेंगी धेरैतिर फैलिँदा सर्वसाधारणमा त्रास बढेको तर डेंगी लाग्दैमा आत्तिहाल्नु नपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

डेंगीको संक्रमण हुँदा ८/१० दिन ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, टाउको धेरै दुख्ने, खान मन नलाग्ने, जोर्नी तथा मांसपेशी दुख्नेलगायत लक्षण देखिने तर डाक्टरको सल्लाहमा उपचार गर्दा निको हुने भएकाले आत्तिन नपर्ने तर बेलैमा स्वास्थ्यकर्मीसँग सम्पर्क भने गर्नुपर्ने उहाँले बताउनुभयो ।

ज्वरो आउँदा सिटामोल मात्र खानुपर्ने तर फ्लेक्सन निम्सलगायतका सिटामोलको साथमा अरु तत्व पनि थप गरिएका औषधी भने खान नहुने डाक्टरले बताएका छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका र यसअघि पनि डेंगी भइसकेकालाई डेंगी भए बढी सतर्कता अपनाउनुपर्ने  डाक्टरको सुझाव छ ।

डेंगी सार्ने एजिप्टाइ लामखुट्टे सफा पानीमा बस्ने तथा मानिसजस्तै बिहान उठ्ने दिनभरी सक्रिय हुने र बेलुका निष्कृय हुने गर्छ ।

लामखुट्टेको टोकाइबाट जोगिनु डेंगीबाट बच्ने सबैभन्दा राम्रो उपाय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको एनटीटी तथा भ्याक्टर बर्न रोग शाखाका प्रमुख डाक्टर घनश्याम पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया