ग्यास पनि पाइपबाटै पठाउन भारतीय पक्षको जोड, नेपालको प्रशंसा

 भदौ २४, २०७६ मंगलबार १३:५४:५८ | अर्जुन पोख्रेल
unn.prixa.net

अमलेखगञ्ज, बारा – विभिन्न चुनौती पन्छाएर पेट्रोलियम पाइपलाइनको काम सकिएकोमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपालको प्रशंसा गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेपछि अमलेखगञ्जमा भएको विशेष कार्यक्रममा आईओसीका पदाधिकारीले नेपालको प्रशंसा गरेका हुन ।

‘मानवबस्ती भएको र निकुञ्ज क्षेत्रमा पनि नेपालले सक्रियतापूर्वक काम गरेर योजना सकिएको छ, म नेपालको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु’, आईओसीका कार्यकारी निर्देशक जेपी सिन्हाले भन्नुभयो ।

निकुञ्ज रहेको ९ किलोमिटर क्षेत्रमा काम गर्न निकै गाह्रो हुने देखिए पनि नेपालले सजिलो बनाइदिएकोमा उहाँले नेपालको प्रशंसा गर्नुभयो । उहाँले अब भारतदेखि नेपालसम्म एलपीजी ग्यास पाइपलाइनको पनि काम सुरु गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

पेट्रोलियम पाइपलाइनको सफलताले ग्यास पाइपलाइनको संभावना उच्च देखाएको उहाँको भनाइ छ । अत्यन्तै सुरक्षित, भरपर्दो र वातावरणमैत्री भएकाले पनि पाइपलाइनबाटै इन्धनको कारोबार गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै आईओसीका अर्का कार्यकारी निर्देशक अविजित चौधरीले एक वर्षसम्म पाइपलाइनको सञ्चालन र मर्मत सम्भारमा सहयोग र सहकार्य हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले  पाइललाइन बनाइदिएकोमा आईओसीलाई धन्यवाद दिनुभयो । उहाँले अब कुनै अवरोध र अप्ठेरोबिना नेपालले भारतबाट तेल ल्याउन सक्ने जानकारी दिनुभयो । ‘३ वर्षमा सक्ने योजना १५ महिनाअघि नै सम्पन्न भएको छ, अब हामी कुनै अवरोधबिना डिजल ल्याउन र बिक्री गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।

पेट्राेलियम पाइपलाइनबारे उज्यालाेले तयार पारेकाे भिडियाे सामग्री हेर्नुहाेस्

यस्तै नायब कार्यकारी निर्देशक सुशील भट्टराईले २०/२१ वर्षदेखि निकै कुरा भए पनि काम नभएको तर पछिल्लो ३/४ वर्षमा द्रुत गतिमा भएको कामले गर्दा सफलता हात लागेको बताउनुभयो ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया