डेंगी रोग नियन्त्रण बाहिर छैन, प्रयास जारी छ: सरकार

 भदौ २७, २०७६ शुक्रबार ७:१९:२४ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले डेंगी रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ ।

सामाजिक सञ्चालनमा डेंगी रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको प्रयास जारी रहेको र यसप्रति सरकार सचेत रहेको बताउनुभयो । 

मन्त्री बाँस्कोटाले बिहीबार सिंंहदरबारमा भएको नियमित पत्रकार भेटघाटका क्रममा भन्नुभयो, नागरिक, स्वास्थ्य क्षेत्र, मन्त्रालय र अरु संघसंस्थाबाट नियन्त्रणको प्रयास हुँदै आएको छ, रोग फैलँदै गएको भए पनि नियन्त्रण बाहिर भने छैन तर यसले दुःख भने दिएको छ, सबै मिलेर समाधान गर्नुपर्छ ।

उहाँले रोग नियन्त्रणप्रति सरकार सचेत रहेको उल्लेख गर्दै नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।

पछिल्लो प्रतिवेदनले विश्वमा झण्डै ४० करोड मानिस यो रोगबाट प्रभावित भएको र तीन अर्ब मानिस संक्रमणको जाेखिममा रहेको तथ्यांक विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको भन्दै उहाँले नेपालमा बिरामीको उपचारमा स्रोतसाधनको व्यवस्था मिलाउने र जनचेतना फैलाउने काम सरकारले गरिरहेको बताउनुभयो । एक्लो सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने भनाइ मन्त्री बाँस्कोटाको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको वैशाखदेखि फैलिएको रोग देशका ४८ जिल्लामा देखापरेको छ । वैशाख महिनायता झण्डै ७० हजार जनाले रोगका बारेमा स्वास्थ्य परीक्षण गराएकामा झण्डै ६ हजार जना रोगको संक्रमणबाट प्रभावित भएका पाइएकाे छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबारसम्म यस रोगका कारण सिन्धुपाल्चोकमा एक, सुनसरीमा एक, चितवनमा एक, काठमाण्डौमा दुई र डोटीमा एक गरी  ६ जनाकाे मृत्यु भइसकेकाे छ । 

एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा याे रोग लाग्न सक्छ । रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने पेट तथा आन्द्रामा गडबडी हुन्छ ।

मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै रोगबाट बच्ने प्रमुख उपाय हो । पूरा शरीर ढाकिने गरी कपडा लगाउने, घर वरपर सफा राख्ने, पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम, बट्टाआदि सधैँ छोपेर राख्नुपर्ने चिकित्सकको सुझाव छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया