डोटीका तीन सडक कालोपत्रे हुँदै

 भदौ २७, २०७६ शुक्रबार ११:५२:५३ | विमल बिष्ट
unn.prixa.net

डोटी - वर्षाैँ पहिले निर्माण गरिएका डाेटी जिल्लाका तीन वटा ग्रामीण सडक कालोपत्रे हुने भएका छन् ।

सुदूरपश्चिम सरकारले डोटीको सिलगढी-ओखरबोट-साईल-बगलेक-झिग्राना सडक, सिलगढी-कलेना-दल्लेक-मेल्लेक-बझाङ जोड्ने सडक र राजपुर-फलेडी-धिर्कामाण्डौैंं जोड्ने सडक कालोपत्रेको तयारी गरेको हाे ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड जोड्ने सिलगढी-झिग्राना सडकमा १५.६ किलोमिटर कालापत्रे गर्न ४० करोड रुपैयाँ, सिलगढी-मेल्लेक हुँदै बझाङ जोड्ने साढे ७ किलोमिटर सडक कालोपत्रे गर्न १५ करोड ९७ लाख १२ हजार ५४२ र राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-५ धिर्कामाण्डौं जोड्ने साढे ९ किलोमिटर सडक कालोपत्रे गर्न२२ करोड ९१ लाख ४९ हजार ४९५ रुपैँयामा ठेक्का कबुल गरिएको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो ।

उहाँका अनुसार तिन वटै सडकको आउदो २०७८ सालको असार ३० गते कालोपत्रेको काम सक्ने गरी सम्झौता गरिएको छ । 

जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडक अन्तरगत ३२.६ किलोमिटरका लागि कुल ७८ करोड ८८ लाख ६२ हजार ३७ रुपैँयाको लागतमा सडक कालोपत्रेको काम सुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक विस्तारको काम हुने भएको छ । डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रेको काम सुरु भएको हो ।

मुख्य राजमार्ग मात्र कालोपत्रे रहेको डोटी जिल्लामा पहिलो पटक र एकै पटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्रे हुने भएपछि यहाँका स्थानियवासी निकै खुसी भएका छन् । सिलगढी– झिग्राना सडक चन्द्र एण्ड बसन्त कन्ष्ट्रक्सन, सिलगढी-मेल्लेक सडक राजेन्द्र-पिएस जेभी र राजपुर-फलेडी-धिर्कामाण्डौँ सडक के.एस. कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको बताइएकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया