‘दलित’लाई पानी खुवाएको भन्दै गाउँ निकाला

 असार ३१, २०७५ आइतबार १३:४७:४२ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको हिमाली गाउँपालिका–२ नातीखोलाका एक दम्पत्ती ६ वर्षदेखि गाउँ निकालाको पीडा सहिरहेका छन् । ‘दलित’ लाई पानी खुवाएको भन्दै साविकको रुगिन गाविसको कवाडी गाउँका जयलाल बुढा र उहाँकी श्रीमती रिमकलालाई ६ वर्षदेखि गाउँ निकाला गरिएको हो । २०६९ सालमा एकजना ‘दलित’ ले घरमा पसेर पानी खाएको गाउँलेले देखेपछि आफूहरुलाई ‘दलित’लाई घरभित्र छिर्न दिएको भन्दै एक्ल्याएको जयलालले बताउनुभयो । गाउँलेले अछुतको जस्तै व्यवहार गर्न थालेपछि गाउँ छोड्न बाध्य भएको उहाँको भनाई छ । 

‘गाउँमा बस्न नपाएर त केही थिएन, छोराहरुसँग समेत बस्न नपाउँदा मन दुख्छ,’ ६० वर्षीय जयलालले बताउनुभयो, ‘छोरावुहारी हामीसँगै बस्दा फेरि गाउँलेले उनीहरुलाई पनि ‘अछुत’ बनाउलान् भन्ने डरले उनीहरुपनि यहाँ आउँदैनन् हामीपनि जाँदैनौ ।’ सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल दुरीमा रहेको यो गाउँपालिकामा समाजका विवादित कुराहरु गाउँका मुखियाले मिलाउने गर्दछन् ।  पछिल्लो समय केही यस्ता समस्याहरु वडा कार्यालय र गाउँपालिकामा पनि पुग्ने गरेका छन् । जिल्लामा केही वर्ष अघिसम्म ‘दलित’ ले छोएको खाए, घरभित्र छिर्न दिए वा विवाह गरे ‘अछुत’ करार गरेर गाउँ निकाला गर्ने चलन थियो । त्यसकै प्रतिनिधि पात्र हुन् बुढा परिवार । 

जयलालको परिवारलाई गाउँलेले दलितको हातको पानी खाएको र उहाँकी श्रीमतीलाई दलित केटासँग अनैतिक सम्बन्ध राखेको आरोप लगाएका थिए । उहाँको परिवारलाई ‘डुम’ भन्दै गाउँमा एक्ल्याए, कुटपीट गरे, धारो, कुलो, घट्ट कुनैपनि ठाउँमा जान नदिएपछि आफू खोलाको किनारामा आएर बसेको उहाँले बताउनुभयो । 

नेपालको संविधान २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछुत तथा जातीय विभेद गर्न नपाइने व्यवस्था गरेको छ । तर जयलालका दम्पत्तीले अझैपनि गाउँ गएर परिवारसँगै बस्ने आँट गर्न सकेको छैन ।

गाउँलेले छोरा बुहारीलाई समेत सँगै बस्न नदिएपछि माइलो छोरा भागेर भारत गएको र अहिलेसम्म नफर्किएको उहाँले बताउनुभयो ।

गाउँलेले पानी भर्न गएका बेलामा पनि गाग्री फुटाइदिएको र कुनै काममा पनि सामेल हुन नदिएको  श्रीमती रिमकलाले बताउनुभयो । 

बुढाको परिवारलाई भेट्न गएका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानुन विपरित गाउँ निकाला गरिएकाले पुनस्थापना गर्ने बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया