शोकमा डुब्यो दोलखा : बस दुर्घटनामा शैलुङ गाउँपालिकाका १४ जनाले ज्यान गुमाए

 कात्तिक १८, २०७६ सोमबार १५:१:३३ | उषा तामाङ
unn.prixa.net

दोलखा – सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा दोलखाको शैलुङ गाउँपालिकाको ४ वटा वडाका १४ जनाको ज्यान गएको छ । 

आइतबार दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेको सुनकोशी नदीमा खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा दोलखाको शैलुङ गाउँपालिका ५ का ६ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का २ जना र वडा नम्बर २ का १ जना गरी कुल १४ जनाको ज्यान गएको हो । त्यसैगरी दुर्घटनामा भीमेश्वर नगरपालिका ९ का १ जना तथा उदयपुर, चितवन र काभ्रेका १ १ जना गरी ३ जनाको ज्यान गएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरुमा शैलुङ गाउँपालिका ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ४५ वर्षीया रत्नकुमारी राउत र उहाँका २९ वर्षीय छोरा किरण राउत, २० वर्षीया कविता राउत, १४ वर्षीय निखिल खड्का र ३८ वर्षीया सानु राउत रहेका छन् । 

त्यसैगरी शैलुङ गाउँपालिका ४ मागापौवाकी ६ वर्षीया सलिना तामाङ, त्यही ठाउँकी १४ वर्षीया दिल लामा, शैलुङ गाउँपालिका ३ का तीन महिने शिशु रोशन तामाङ, २७ वर्षीया चमेली श्रेष्ठ, उहाँकी ६ वर्षीया छोरी साया श्रेष्ठ, ३२ वर्षीया निर्मला खड्का, १३ वर्षीय निकेश खड्का, शैलुङ गाउँपालिका २ की ७० वर्षीया उरमाया मोक्तान र भीमेश्वर नगरपालिका ९ की २४ वर्षीया रन्जिता केसीको ज्यान गएको हो ।  

त्यस्तै काभ्रेको रोशी गाउँपालिका ४ की ५ वर्षीया सजिना तामाङ, चितवनकी ५६ वर्षीया पूजा बस्नेत र उदयपुर चौदण्डी नगरपालिका ६ का २३ वर्षीय विजय तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका ५० जनामध्ये २१ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । १३ जनाको धुलिखेल अस्पतालमा, ३ जनाको नर्भिक अस्पताल, १ जनाको ट्रमा सेन्टर, २ जनाको बनेपाको शीर मेमोरियल अस्पताल र २ जनाको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

ज्यान गुमाउने १८ जनामध्ये ९ जना महिला, ४ जना बालक, ३ जना बालिका र दुई जना पुरुष रहेका छन् । मृतकको शव सोमबार आफन्तको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी काफ्लेले जानकारी दिनुभयो । 

आइतबार दिउँसो दोलखाबाट काठमाण्डौ जाँदै गरेको बा २ ब ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेको सुनकोशी नदीमा खसेको थियो ।

शोकमा सरकारी कार्यालय, शैक्षिक संस्था र संघ-संस्था बन्द

यसैबीच शैलुङ गाउँपालिका कार्यालयले शोक विज्ञप्ति जारी गर्दै साेमबार गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य गैरसरकारी संघ-संस्थाहरु बन्द गरिएको जनाएकाे छ । 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी दोलखाले शोक वक्तव्य जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका आफन्तमा समवेदना व्यक्त गरेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया