गूगलले राजनीतिक विज्ञापनमा कडाइ गर्दै

 मंसिर ६, २०७६ शुक्रबार १७:२८:४६ | एजेन्सी
unn.prixa.net

गूगलले राजनीतिक विज्ञापन सम्बन्धमा आफ्नोे नीतिलाई अझ कडा बनाएको छ । मतदाताहरुलाई प्रभावित गर्न अनलाइन प्लेटफर्मको प्रयोग गरेर विभिन्न पार्टीहरुले गलत जानकारी सम्प्रेषण गर्नसक्ने भन्दै सचेत गराएको छ । 

राजनीतिक विज्ञापनलाई बढावा दिएको भन्दै गूगलले पटक पटक आरोप खेप्दै आइरहेको छ । यो नयाँ नियमले गलत जानकारी दिन खोज्ने राजनीतिक विज्ञापनदातालगायत अन्य क्षेत्रका विज्ञापनदातालाई रोक्न सक्ने गूगलले दाबी गरेको छ । 

गूगलका विज्ञापन उत्पादन प्रबन्धनका उपाध्यक्ष स्कट स्पेन्सरले भने, ‘कुनै पनि विज्ञापनदाताले गलत दाबी गर्नु हाम्रो नीतिविरुद्ध छ । चाहे कुनै कुर्सीको मूल्यको विज्ञापन होस् या चुनावप्रति नकारात्मक भावना फैलाउने विज्ञापन होस्, त्यो हाम्रो नीतिविरुद्ध छ ।’

गूगलले आयु, लैङ्गिक तथा अन्य तहको आधारमा राजनीतिक विज्ञापनको पहुँचमा पनि सीमितता प्रदान गर्नेछ । स्पेन्सरले भने, ‘यद्यपि राजनीतिक विज्ञापनदाताहरुले लक्षित दर्शक र पाठक अहिले पनि पाउन सक्छन् ।’

गूगलले नयाँ नियम बेलायतमा यही हप्ताभित्र लागू गर्नेछ, पूरै युरोपेली संघमा यो वर्षको अन्त्यसम्म लागू हुनेछ र विश्वभरि आउँदो ६ जनवरीदेखि लागू हुनेछ । 

केही हप्ताअघि मात्र पनि ट्विटरले भने राजनीतिक विज्ञापनलाई लिएर कडा पाइला चालेको थियो । ट्विटरले सबै प्रकारका राजनीतिक विज्ञापनलाई प्रतिबन्धित गरेको छ ।    

सम्बन्धित समाचार

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया