द्वन्द्वकालका गम्भीर अपराधका घटनामा संलग्नलाई आम माफी दिन सकिँदैन: नेकपा अध्यक्ष दाहाल

 मंसिर ५, २०७६ बिहिबार २०:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

अध्यक्ष दाहालले द्वन्द्वपीडितहरुको समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिनुभयो ।

विस्तृत शान्ति सम्झाैता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले विगतमा गठन गरिएको आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पुराना पदाधिकारी दोहोर्‍याउन नमिल्ने अडानमा आफू रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले पीडितहरुको चाहना र सरोकारवाला निकायहरुको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताउनु भयो ।

द्वन्द्वकालका गम्भीर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने अडान पनि राख्दै उहाँले अन्तर्राष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भीर ठहर्या‍इएका घटनामा संलग्नहरुलाई माफी दिन नमिल्ने पनि बताउनु भयो ।

समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिने काममा ढिलाइ नगर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षमता भएका नेतृत्व ल्याएर पीडितलाई न्याय दिन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया