धनुषामा जेठाजुद्वारा बुहारीको हत्या प्रकरण : आर्थिक लेनदेन मुख्य कारण रहेकाे खुलासा

 पुस १०, २०७६ बिहिबार १९:४३:४६ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - धनुषाको मिथिला नगरपालिका-९, बडहरीमा जेठाजुले आर्थिक लेनदेन र जग्गा विवादका कारण बुहारीको हत्या गरेको रहस्य खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२१, कुर्थाका श्रीप्रसाद पञ्जियारले आफ्नी भाइबुहारी रानीदेवी पञ्जियारको आर्थिक लेनदेन र जग्गा विवादको कारण हत्या गरेको तथ्य आरोपित पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

घटनापछि फरार रहेका श्रीप्रसादलाई जिप्रका धनुषाका अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह र इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राम कुमार यादवको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-१ काे रेल्वे ट्रयाकबाट बुधवार राति ९ बजे पक्राउ गरेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले आर्थिक लेनदेन र जग्गा विवादका कारण श्रीप्रसादले आफ्नै बुहारीमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेकाे जानकारी दिनुभयाे ।

बुधवार दिउँसो बडहरीमा रहेकाे आँपको बगैँचामा श्रीप्रसादले धरिलो हतियार प्रयोग गरी बुहारी रानीको टाउको, नाक र बायाँ हातको तीन वटा औँला काटेर फरार भएका थिए ।

गम्भीर घाइते भएकी रानीलाई उपचारका लागि मोडेल अस्पताल लालगढमा पठाइएकाे र त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउने क्रममा उहाँले आफ्नै जेठाजु श्रीप्रसादले खुकरी प्रहार गरी फरार भएको बयान दिनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया