दोहोरो विभेदमा दलित सांसद : मिडियाको साथ नपाएको गुनासो !

‘संसदमा आफूले बोलेको भिडियो फेसबुकमा राख्छौँ’

 पुष २०, २०७६ आइतबार २१:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘हामी नेता होइन, कार्यकर्ता रहेछौँ । प्रतिनिधिसभाको सांसद भएपनि समानुपातिकबाट प्रतिनिधित्व गर्छौ’, सुदुरपश्चिमको बझाङ घर भएकी सांसद आशाकुमारी विक मधुरो बोलीमा भन्नुुहुन्छ, ‘हाम्रो यो हैसियत मिडियाले तय गर्ने रहेछ ।’

दलित समुदायबाट संघीय संसदको प्रतिनिधित्व गर्ने मौका आशालाई सत्तारुढ दल नेकपाले दिएको हो । प्रत्यक्षबाट चुनाव लड्न टिकट पाइएन । टिकट पाएपनि यति खर्चिलो चुनावमा जित हुन्थ्यो की हुन्थेन ? थाहा थिएन । तर पार्टीले टिकट दिनुको साटो समानुपातिकबाट सांसद बनाएर अवसर दियो ।

आशाकुमारीका लागि यो अवसर ठूलो हो । नयाँ संविधान र संघीयता लागू भएपछि संघीय संसदमा दलित समुदायबाट प्रतिनिधित्व गर्न पाउनु स्वर्णिम अवसर भएपनि व्यवहार भने ठीक उल्टो छ ।

‘प्रत्यक्ष सांसदले जसरी हामीले बजेट र योजना माग गर्न सक्दैनौ । माग गरेपनि त्यसलाई वास्ता गरिदैन’ आइतबार काठमाडौँमा क्रियाशील दलित पत्रकार संघ, नेपाल (आडजोन)ले आयोजना गरेको ‘मिडियामा दलित सांसद’ विषयक अन्तरक्रिया कार्यक्रममा आशाकुमारीले श्रृङ्खलाबद्ध विभेदको पीडा फुकाउदै भन्नुभयो, ‘दलित भएका कारण यसै विभेद भोगिरहेका थियौ । त्यसमाथि समानुपातिक सांसद भनेपछि अर्को विभेद !’

आशाकुमारीको जस्तै भोगाई नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारको पनि छ । सानैदेखि पाइला पाइलामा भोगेको विभेद बिसाउने ठाउँमा पुगेपनि त्यसको प्रत्यक्ष महसुस सांसद लक्ष्मीलाई हुन सकेको छैन ।

 

‘आरक्षण कोटाबाट समानुपातिक सांसद भयो भनेर आरोप लगाउने धेरै छन । तर यो उपलब्धीका लागि हामीले कति संघर्ष गरेका छौ ? त्यसको हिसाबकिताब कसैले राखेको छैन’ सांसद लक्ष्मीको गुनासो छ, ‘अनेकौ संघर्ष गरेर सांसद बनियो । तर आफ्ना र समुदायका कुरा संसदमा राख्यो । तर कसैले सुनिदिदैन । मिडियाले पनि ठाउँ दिदैन ।’

‘संसदमा जतिसूकै महत्वपूर्ण कुरा उठाएपनि मिडियामा आउदैन । सायद अरु नेता र सांसदजस्तो म सेलिब्रेटी नभएर हो की ? समाज र देशका लागि बोलेका कुरा मिडियामा कभरेज पाउन के गर्नुपर्छ ?’ लक्ष्मीको प्रश्न छ ।

यही प्रश्न सांसद अन्जना विशंखे, पार्वती विशंखे र दुर्गाकुमारी विकको पनि छ । 

‘विभेद भोगेका छौ । त्यसमाथि समानुपातिक सांसद भएर कसैले वास्ता गर्दैन । दोहोरो विभेद भोगेको पीडा कसलाई गएर सुनाऔ ? मिडियाले सुनेपनि साथ दिदैन । समाज परिवर्तन हुन मान्दैन । अब के गरौ ?’ तीनै जना सांसदको साझा प्रश्न छ ।
संसदमा बोलेको कुरा फेसबुकमा हाल्छौ !

मिडियाको साथ नपाएकै कारण आफ्नो निर्वाचन क्षेत्रका नागरिक र सबैले पीडा सुनुन भनेर फेसबुकमा हाल्ने गरेको सांसद आशाकुमारीले गुनासो गर्नुभयो ।
‘अरु सांसदले बोलेको कुरा मिडियामा आउँछ । सबै जसो मिडियामा हेडलाइन बन्छ’ आशाकुमारीले गुनासो गर्नुभयो, ‘तर हामीले बोलेको कुरा कसैले वास्ता गर्दैन । त्यही भएर फेसबुकमा हाल्ने गरेका छौ ।’

जातीय विभेदबाट मुक्ति पाउन ठूलो संघर्ष गरेपनि त्यो बचाउन हम्मे हम्मे परेपनि मिडियाबाट साथ नपाएको अर्का दलित सांसद तथा पूर्वमन्त्री मानबहादुर विश्वकर्माले गुनासो गर्नुभयो ।

पुर्वमन्त्री तथा रुपन्देही–१ बाट निर्वाचित नेकपाका सांसद छविलाल विश्वकर्माले आन्दोलन गरेर सत्ता परिवर्तन भएपनि सोच र व्यवहार परिवर्तन हुन नसकेको बताउनुभयो ।

‘आन्दोलन गरेर दलित समुदायको समानुपातिक समावेशी सहभागिताको व्यवस्था त ल्यायो, तर अझै व्यवहारमा लागु हुन सकेन ।’ देशभर तीनै तहका सरकार भएपनि दलित सहभागिता न्युन भएको उहाँको गुनासो छ ।

पूर्वमन्त्री एवम् कांग्रेस सांसद मीन विश्वकर्माले पत्रकारिता र मिडियाले साथ दिएमा विभेदको अन्त्य र समावेशी सहभागिता बढाउन सकिने बताउनुभयो । यसका लागि राजनीतिकर्मी, दलित सांसद र पत्रकार एक ठाउँमा आउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा दलित सांसद, पत्रकार र अभियान्ताहरुको सहभागिता थियो ।
 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया