सुदूरपश्चिममा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर बन्दै

 पुष २४, २०७६ बिहीबार ९:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – गएकाे मङ्गलबादेखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमकाे पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडमा पर्ने झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे हाे ।

हिमपातका कारण चिसो बढेपछि गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका जोगीसिंह विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, 'हिमपातका कारण गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाे छ, गाईवस्तु गोठबाहिर निकाल्न समेत समस्या भएको छ ।'

हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले तेस्राे पटक हिउँ परेपछि भने स्थानीय किसान बाली सप्रिने आशमा खुशी भएका छन् । डाेटीका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका क्षेत्रमा मसिनाे पानी परिरहेकाे छ  ।

हिमपातका कारण घरबाहिर निस्किन नसकेपछि घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

चिसाेले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । पानी र हिमपातका कारण तापक्रम निकै घटेको छ ।

चिसोका कारण विभिन्न राेग र समस्या निम्तिने भएकाले यसबाट बच्न शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले स्थानीयलाई सुझाव दिनुभएको छ ।  

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया