मन्त्री भट्टराईकाे अनुराेध : 'अस्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल पठाइदिनुस्'

 पुस २४, २०७६ बिहिबार १०:३५:० | रासस
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गर्नुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अस्ट्रेलिया र भिक्टोरियामा रहेकाे नेपाली महावाणिज्य दूतावासको कार्यालयले संयुक्तरुपमा बुधबार आयोजना गरेकाे 'भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले  नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।   

उहाँले नेपाल र अस्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै त्याे सम्भव हुँदा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताउनु भयो । अस्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उहाँले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन अस्ट्रेलियामा रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताउनु भयो । उहाँले आफू अस्ट्रेलिया आए देखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको भन्दे खुशी व्यक्त गर्नुभयाे ।    

गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गर्नुभयाे । उहाँले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गर्नुभयो ।

अस्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीसले पनि अस्ट्रेलियाको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताउनु भयो ।   

गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताउनु भयो । साथै अस्ट्रेलियाकाे आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिनुभयो । सङ्घकै पहलमा मेलबर्न र सिड्नीमा एक–एक वटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उहाँको बताउनु भयाे । 

कार्यक्रममा  महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अस्ट्रेलियाको रेस कमिस्नार चिन्टाङ लगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिनुभयो ।   

कार्यक्रममा नेपाल भ्रमण गर्नुभएका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गी लगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गर्नुभएको थियो ।   

गएकाे वर्ष अस्ट्रेलियाबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अस्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया