कर्जामा राष्ट्र बैैककाे कडाइसँगै गाडीको बिक्री घट्यो

 पुष २४, २०७६ बिहीबार १४:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाइ गरेसँगै गाडीहरुको बिक्री घटेको छ । 

राष्ट्र बैंकले पुसकाे पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशतभन्दा बढी नहुनेगरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएपछि त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको हाे ।

पछिल्लो केहीदिन यता सवारीसाधनको बिक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्नसमेत नसकिएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको बताउँदै उहाँले भन्नुभयो, ‘गाडी छन्, ग्राहक पनि छन् तर बीचमा मध्यस्थता गर्ने बैंकहरुले कर्जा नदिँदा समस्या आएको छ ।’

नेपाल राष्ट्र बैंकले भने ऋण लिएपछि तिर्ने क्षमतामा सुनिश्चितता कायम गर्न यस्तो नीति लागू गरेको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले हायर पर्चेज, घरजग्गा लगायतका क्षेत्रमा दिइने कर्जामा आफ्नो कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतबाट किस्ता तिर्न भ्याउनेगरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको र यसले कर्जा लिने व्यक्तिले भविष्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

उहाँले याे नियमले गाडी व्यवसायमा सुरुमा समस्या देखिए पनि भविष्यमा राम्रै फाइदा पुर्‍याउने बताउँदैअर्थतन्त्रमा स्थिति बसाल्न र संस्थागत सुधार गर्न खोज्दा सुरुसुरुमा समस्या आउने तर पछि समान्य हुने भएकाले यसले दीर्घकालमा कुनै असर नगर्ने बताउनुभयो ।

व्यवसायीहरुले चालु आर्थिक वर्षमा गाडीको बिक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अझै व्यापार घट्ने बताएका छन् । यसले समग्र अर्थतन्त्रमा असर पार्ने नाडाका अध्यक्ष दुलालले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया