राष्ट्रिय सभाबाट दुई विधेयक पारित

 पुस २४, २०७६ बिहिबार १९:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रियसभाको बिहीबार बसेको बैठकले दुई विधेयक पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ र ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन)’ विधेयक सर्वसम्मतिले पारित भएको हो । 

विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको हो । बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । 

यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा.खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताउनुभयो । 

हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको उहाँले जानकारी दिनुभयो । कानुनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उहाँले बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक आउँदो २७ गते दिउँसो १ बजे बस्नेछ  ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया