निगमले समयमै ऋण तिर्छ, कर्जाकाे जाेखिम छैन : अर्थमन्त्री खतिवडा

 माघ १५, २०७६ बुधबार १५:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताउनु भएको छ ।

प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बुधबार बसेकाे बैठकमा अर्थ मन्त्री खतिवडाले कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रक्रिया सुरु भइसकेकाले जोखिम कम हुँदै गएको बताउनु भएको हो । 

‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उहाँले निगमले समयमै ऋण तिरिसक्ने विश्वास व्यक्त गर्नुभयो । 

निगमको आन्तरिक व्यवस्थापनका कारण केही ढिला भए पनि समयमै भुक्तानी गर्ने उहाँले भन्नुभयाे । मन्त्री खतिवडाले लगानी कोषको प्राथमिकताअनुसार लगानीको सीमा तोकिएको र वायु सेवा निगमलाई सरकारले ग्यारेन्टी दिएपछि मात्रै कर्जा दिएको बताउनु भयो ।

बैठकमा विधेयकका विभिन्न दफामा संशोधन प्रस्ताव राख्नुभएका सांसद दिव्यमणि राजभण्डारीले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा गरेको लगानी डुब्न लागेकाले ऐनमार्फत त्यस प्रकारका लगानी गर्न नदिने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार ग्यारेन्टी बसेको भए पनि निगमले कर्जा भुक्तानी गर्न नसकेकाले जोखिम बढेको बताउनु भयो ।

बैठकमा सांसद सुरेन्द्रप्रसाद पाण्डेले संसदबाट पास गरेर नेपाल वायुसेवा निगमलाई सरकारको ग्यारेन्टीमा लगानी कोषबाट कर्जा उपलब्ध गराएकाले निगमले भुक्तानी गर्न नसके पनि कोषलाई कुनै नोक्सानी नहुने बताउनु भयो । उहाँले निगमले कर्जा तिर्न नसके सरकारले तिर्नुपर्ने बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया