दशनामी समाजका कोषाध्यक्ष गिरी मृत फेला : हत्या भएकाे दावी गर्दै निष्पक्ष छानबिन गर्न आफन्तकाे माग

 माघ २२, २०७६ बुधबार २०:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष हरिदेव गिरी मृत भेटिनुभएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका ५१ वर्षीय गिरी  मंगलबार राति काठमाण्डौकाे बानेश्वर, आलोकनगरमा रहेकाे डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अवस्थामा भेटिएपछि उहाँका परिवारजनले हत्या दावी गरेका छन् ।

भक्तपुरको एसएस कलेजका सञ्चालक, रेन्बाे ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपलसमेत रहनुभएका गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको तथा देब्रे खुट्टा भाँचिएको अवस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले जानकारी दिनुभयो ।

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ । उहाँले बुधबारै महानगरीय प्रहरी वृत्त बानेश्वरमा ज्यान मुद्धासम्बन्धी जाहेरी दिइ घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

आफन्तले रेष्टुरेष्ट सञ्चालक एवं अन्य व्यक्तिको घटनामा संलग्नता रहेको दावी गर्दै रेष्टुरेष्टकाे सीसी क्यामरा फुटेज समेत मेटाएको पाइएको बताएका छन् । 

आफन्तले रेष्टुरेष्ट सञ्चालकले घटनाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्षले सामूहिक जाहेरी दिएका छन् । प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान सुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा भन्न सकिने बताउनुभयो । 

मृतक गिरीको बुधबारै शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । आर्यघाट पुग्नु भएका सञ्चार तथा सूचनाप्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया